१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले गर्‍याे खेलाडीलाई सम्मान

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७९, बिहीबार ०७:५३

काठमाडौ । गैरआवासीय नेपाली संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेता खेलाडी एस्ली सापकोटा डंगोल र आशीष सापकोटा डंगोललाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम गरी संघले खेलाडीद्वयलाई सम्मान गरेको हो ।

संघको सचिवालयले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले उनीहरूलाई सम्मान गरेका हुन् । साथै उनीहरूका आमा र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ स्वर्ण र आशिष सापकोटा डंगोलले तीनवटा स्वर्ण पदक जितेका छन् । स्वर्णधारी खेलाडीद्वयले संघको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गरे ।

संघका अध्यक्ष केसीले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोस्राे पुस्ताका ट्यालेन्टेड युवाहरूलाई खोजेर सहभागी गराई नेपालको खेलकुद प्रवर्द्धन गर्नुपर्ने बताए ।