काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-बोडे क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको जिब्रो छेड्ने जात्रा बुधबार सम्पन्न भएको छ। यस वर्ष स्थानीयवासी सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै जात्राको निरन्तरता कायम गरेका छन्।
जात्राको विधिअनुसार नाइकेहरूले विभिन्न देवदेवताहरूको पूजा सम्पन्न गरेपछि करिब १० इन्च लामो सुइरो प्रयोग गरी पाँचो गणेश मन्दिर परिसरको पाटीमा बनाइएको मञ्चमा सुजनको जिब्रो छेडिएको थियो। उक्त सुइरोलाई पूर्वतयारीका रूपमा तेलमा डुबाएर राख्ने प्रचलन छ।
परम्पराअनुसार चैत महिनाको अन्तिम दिन महालक्ष्मी मन्दिर परिसरमा लिंगो उभ्याएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्ने गर्छन्। जिब्रो छेडिसकेपछि सहभागीले चन्द्राकार ‘भ्वाय्’ (महाद्वीप) बोकेर बस्तीका विभिन्न टोल परिक्रमा गर्ने र अन्त्यमा भाँगु टोलस्थित पाँचो गणेश मन्दिरमा सुइरो निकालेर महालक्ष्मी मन्दिरमा गाडेपछि जात्रा सम्पन्न हुने विश्वास छ।
स्थानीय धार्मिक विश्वासअनुसार यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित प्राचीन परम्परा हो। किंवदन्तीमा उल्लेख भएअनुसार अतीतमा बोडे क्षेत्रमा भूतप्रेत तथा पिशाचहरूले स्थानीयलाई सताउने गरेपछि तान्त्रिक भीमदत्तले तान्त्रिक विधिबाट ती शक्तिलाई नियन्त्रण गर्दै जिब्रो छेड्ने अभ्यास सुरु गराएको विश्वास गरिन्छ। त्यसयता यो परम्परा निरन्तर रूपमा मनाइँदै आएको छ।