काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। बैठक पार्टी सभापति गगन थापाको अध्यक्षतामा दिउँसो करिब सवा दुई बजेदेखि सञ्चालनमा रहेको जनाइएको छ।
यसअघि सोही दिन पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक सम्पन्न भएको थियो, जसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो।
आजको कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठन गरिएको अध्ययन समितिले तयार पारेको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ।
उक्त समिति जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन गरी सुझावसहित निष्कर्ष तयार पार्न गठन गरिएको थियो।
उक्त अध्ययन प्रतिवेदनको आधारमा पार्टीले आयोगको प्रतिवेदनप्रति आफ्नो आधिकारिक धारणा तय गर्ने तयारी रहेको जनाइएको छ।
आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी अवधि एक महिना थप
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा उजुरी दर्ता गर्ने समय सीमा थप गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले यसअघि तोकिएको उजुरी दर्ता अवधिलाई विस्तार गर्ने निर्णय गरेको हो। नयाँ निर्णय अनुसार उजुरी बुझाउने अन्तिम मिति एक महिना थप गरी २०८३ वैशाख मसान्तसम्म पुर्याइएको छ।
समितिका अध्यक्ष तारामान गुरुङका अनुसार प्रतिनिधि सभा निर्वाचन २०८२ सन्दर्भमा पार्टी सदस्यहरूबाट सम्भावित अनुशासन उल्लंघन भएका घटनाबारे प्राप्त उजुरीलाई प्रारम्भिक रूपमा २०८२ चैत मसान्तसम्म बुझाउन आग्रह गरिएको थियो। तर थप समय आवश्यक देखिएकाले म्याद बढाउने निर्णय गरिएको उनले जानकारी दिए।
उनले तोकिएको नयाँ समय सीमापछि प्राप्त हुने उजुरीमाथि कुनै कारबाही प्रक्रिया अघि नबढाइने स्पष्ट गरिएको पनि बताएका छन्।