१७ असार २०८१, आईतवार
Follow Us

सिरहामा एमाले कार्यालयमा आगजनी, जनकपुरमा गृहमन्त्रीको पुत्ला जलाइयो

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७३, मंगलवार ११:३०

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । सप्तरीमा हिजो भएको हिंसात्मक घटनाको बिरोधमा मोर्चाले आज र भोलि तराईका जिल्ला बन्द आह्वान गरेको हो । बन्दका कारण दुई नम्बर प्रदेशका सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सुनसरीलगायत जिल्ला बढि प्रभावित भएका छन् । घटनाको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चीतकालिन जिल्ला बन्द आह्वान गरेको छ । मोर्चाका कार्यकर्ताले सदरमुकाम राजबिराजसहित भारदह, रुपनी, कञ्चनपुरलगायत स्थानमा बिहानैबाट प्रर्दशन गरिरहेका छन् भने यातायातका साधन, उद्योग–कलकारखाना, शैक्षिक संस्था र वजार ठप्प छ । पूर्ब–पश्चिम राजमार्गमा फट्टफुट्ट सबारी साधन चलेपनि सहायक तथा भित्री सडक सुनसान छन् । मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् । बन्दलाई दृष्टिगत गरी तराईका जिल्लामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मोर्चाले घटनाको निश्पक्ष छानविन, मृत्यु भएकालाई सहिद घोषणा र दोषीलाई कारबाहीको माग गरेका छन् ।।

सप्तरी गाडी तोडफोड
यसैबीच, आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा राष्टिय मानव अधिकार आयोगको गाडी तोडफोड गरेका छन् । मोर्चा कार्यकर्ताले आयोगको बा ७ च सात चार सात तीन नम्बरको गाडी तोडफोड गरेका हुन् । आयोगका कर्मचारी हिजो भएको हिंसात्मक घटनाको जानकारी लिन त्यहाँ पुगेका थिए । यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।।
उता, आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले राजविराजस्थित स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी समेत गरेका छन् ।

जनकपुर बन्द
सोमवार सप्तरीमा भएको घटनाको विरोधमा मोर्चाले आब्हान गएिको मधेस बन्दका कारण जनकपुर विहानैदेखि तनावग्रस्त बनेको छ । मोर्चाका नेता तथा कार्यकर्ताहरु विहानैदेखि लाठीसहित जुलुस प्रदर्शन गरेका छन । मोर्चाका कार्यकर्ताहरुले जनकपुर बजारमा सप्तरी घटनाको विरोधमा जुलुस प्रदर्शन गरेका छन् । उनीहरुले जनकपुरका विभिन्न चोकहरु तथा जनकपुर– ढल्केवर सडक खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सप्तरी घटनाको विरोध गर्दै गृहमन्त्री बिमलेन्द्र निधिको पुत्ला जलाएका छन् ।