लण्डन् । विदेशमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू भए पनि त्यसमा विदेशमा बस्ने सबै नेपालीले आवेदन दिन पाएका छैन् ।
गैरआवासीय नेपाली संघको पहलमा सरकारले नयाँ नीति ल्याए पनि सो आइपिओ भर्नको लागि अनिवार्य श्रम स्वीकृती लिएको हुनु पर्ने बाध्यात्मक कार्यविधि बनेका कारणले खाडी मुलुक बाहेकका श्रम स्वीकृत नलिएका लाखौं गैरआवासीय नेपालीहरु सो सुविधाबाट बन्चित भएका छन् ।
विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त व्यवस्था घोषणा गरेको थियो ।
सीडीएस एन्ड क्लियरिङका अनुसार अहिले चार कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओको आवेदन आह्वान गरेका छन् ।
हाल कालिञ्चोक दर्शन, सुपरमादी हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर र मायाखोला हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ खुलाएका छन् ।
कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको कम्तीमा १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कालिञ्चोक दर्शनले १ लाख २० हजार, सुपरमादीले ३ लाख ५० हजार, सुपरमाईले १ लाख र मायाखोलाले ३ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याएका छन् ।
‘धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइनेछ,’ आर्थिक वर्ष ०७९ र ८० को बजेटमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण गर्ने व्यवस्था मिलाएको छु ।’ बजेट कार्यान्वयनमा आएको करिब चार महिनापछि (गत कात्तिक १७ देखि) उक्त व्यवस्था लागू भएको हो ।
यसअघि विदेशमा रोजगारीमा गएका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था थिएन । धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउनुका साथै पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरणमार्फत आमलगानीकर्ताको हकहित संरक्षण गरिने घोषणा पनि सरकारको थियो ।
कसरी आवेदन दिने ?
वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिँदा छुट्याइएको धितोपत्रको सेयर खरिद आवेदन दिँदा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंकमार्फत आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्छ । सीडीएस एन्ड क्लियरिङबाट अनुमति प्राप्त निक्षेप सदस्य (डीपी) मार्फत आफ्नो नाममा हितग्राही खाता खोल्नुपर्छ ।
सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेस गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि बैंकमार्फत सीआरएन (सी–आस्वा रजिस्ट्रेसन नम्बर) लिनुपर्छ । आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्छ । आवेदकले सार्वजनिक निष्कासन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्ने व्यवस्था छ ।
यो व्यवस्था लागू हुनुपूर्व आईपीओ भरेका (सार्वजनिक निष्कासनमा सहभागी) वैदेशिक रोजगारीमा रहेका नेपालीले यो व्यवस्थाअनुरूप छुट्याइएको धितोपत्र खरिद आवेदन दिन फेरि नयाँ हितग्राही खाता खोल्नु पर्दैन । तर बैंक खाता भने विप्रेषण (रेमिट्यान्स) बचत खाता नै खोल्नुपर्छ । त्यसैले आफ्नो बैंकमा सम्पर्क गरी आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली उक्त खाताका लागि नयाँ सीआरएन नम्बर लिनुपर्छ ।