२५ भाद्र २०८२, बुधबार
Follow Us

नेकपा (एस) ले प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापनपत्रमा के छ ?

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७९, मंगलवार ०५:२३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । आज बिहान ९ बजे नेकपा एसले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो । माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गङ्गालाल तुलाधर लगायतका नेताहरुले ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए ।

देशको अर्थतन्त्र गम्भीर सङ्कटतिर उन्मुख भइरहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीले आर्थिक सङ्कट समाधान गर्न सरकारले तत्काल चाल्नु पर्ने कदम र अपनाउनु पर्ने आर्थिक रणनीतिका २० बुँदा सरकारलाई सुझाएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ”मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ। गत मंसिरसम्मको तथ्याङ्क अनुसार राजस्व उठ्ती २०.७ प्रतिशतले नकारात्मक भएको छ। बैंक ब्याज चर्को हुँदा ऋण लिएर कारोबार गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी अवस्थामा पुगेका छन्। ऋण तिर्न नसकेर दैनिक जसो किसान तथा साना र मझौला व्यवसायीले आत्महत्या गरिरहेका छन्। ठूला व्यवसायीहरू पनि गम्भीर सङ्कटतर्फ उन्मुख भएका छन्। यो सङ्कट समाधान गर्न आवश्यक कदम चाल्नुपर्छ।”

उच्च शिक्षाका लागि युवा विद्यार्थीहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीले विगत तीन वर्षमा मात्रै आकर्षक विषय मानिएका र एक वर्ष अघिसम्म भर्ना पाउनका लागि विद्यार्थीहरूको ठूलो सङ्ख्याको दबाब झेलिरहेका सरकारी लगानीका कलेज (आङ्गिक क्याम्पस)हरुले पनि विद्यार्थी भर्नाको कोटा पुरा गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ ।

मुलुकको अर्थतन्त्र विस्तारित नहुनु र सङ्कटग्रस्त हुनुका आर्थिक तथा गैर आर्थिक कारण रहेको उल्लेख गर्दै लेखिएको ज्ञापन पत्रमा भनिएको छ, ‘लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समग्र राज्य र राजनीतिक दल उदासिन छन् । देशमा सुशासनको अभाव छ। अति पछौटे र झन्झटिलो सरकारी कार्य प्रणाली छ। सरकारी निकायका हरेक काममा ढिलासुस्ती छ । सरकारी कर्मचारीहरूमा आमरुपमा सेवा भावको कमी देखिन्छ।’

धेरै पढिएको