६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए वृद्धाश्रमलाई जग्गा उपलब्ध गराउने पशुपति क्षेत्र विकास कोषको निर्णय

नेपालब्रिटेन डट कम्
५ बैशाख २०८०, मंगलवार ०७:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने वृद्धाश्रमका लागि पशुपति विकास कोषले जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार एक सय कोठाको वृद्धाश्रम निर्माण गर्न कोषले पशुपति क्षेत्रको सिफलस्थित भण्डारेश्वर क्षेत्रको जग्गा उपलब्ध गराउने प्रारम्भिक सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । डा. केसीले कोषको पछिल्लो निर्णय स्वागत योग्य भएको बताउँदै अब सो परियोजना अघि बढ्ने जानकारी दिए ।

डा. केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी लिए लगत्तै संघका मेघा परियोजनालाई तिब्रताकासाथ अघि बढाउने निर्णय गरेका थिए ।
भण्डारेश्वर क्षेत्रको जग्गाको क्षेत्रफल एकीन गर्न र सामाजिक कार्यमा प्रयोग गर्ने सम्बन्धमा गुठी संस्थानसँग समन्वय गरी आवश्यक गृहकार्य गर्न व्यवस्थापनलाई निर्देशन दिएको थियो । सय कोठाको वृद्धाश्रम निर्माणका लागि डिजाइन, लगात अनुमान, निर्माण सम्पन्न हुने अवधि, सञ्चालन गर्ने कार्यविधिसहित विस्तृत कार्ययोजना गैरआवासीय नेपाली संघसँग माग गर्ने र कार्ययोजना प्राप्त भएपछि गुठी संस्थानको समेत सहभागिता गराइ कार्यसम्पादन समितिमा छलफल गरी स्वीकृतका लागि सञ्चालक परिषद्मा पेश गर्ने निर्णय गरिएको थियो ।

एनआरएनएले नेपालमा एक सय कोठा क्षमता भएको वृद्धाश्रम बनाउने घोषणा गरेको थियो । संघको नवनिर्वाचित कार्यसमितिको ८४ औं बैठकले पशुपति क्षेत्रमा उक्त आश्रम बनाउने निर्णय गरेको हो ।

उक्त परियोजना सम्पन्न गर्नका लागि अध्यक्ष कुल आचार्यको एक करोड र बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूबाट तीन करोड ५६ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता गरेका थिए । आचार्य सहितको सो प्रतिबद्धता अनुसार पैसा उठ्न सकेको छैन् ।

संघले आगामी कार्यकाल संचालनका लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा महासचिवद्वय गौरीराज जोशी र केशव पौडेल, प्रवक्ताद्वय सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको थियो ।