८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूरोपेली सम्मेलनः ६ लाख प्रवासी नेपाली लगानीकर्ता धितोपत्र बजारमा जोडिने

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०८०, मंगलवार ०४:४८

प्राग । गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालको समृद्धिको लागि नेपालमा लगानीमा जोड दिएका छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा समस्या रहेको बताउँदै विदेशी लगानीमा न्युनत २ करोडको सिलिङ्ग तोकिनु व्यवहारिक नभएको बताए ।

उनले संघले अघि सारेको १० अर्ब लगानीको परियोजनामा सा–साना लगानीकर्ताहरु जोड्ने उद्देश्यले सामूहिक लगानीको परियोजना अघि सारिएको बताए । उनले निकट भविष्यमा सो फण्डमा न्यूनतम २ सय ५० डलर लगानी गर्नसक्ने नेपालीलाई जानकारी दिने उद्देश्यले रोड शोको आयोजना गरिने जानकारी दिए । डा. केसीले गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न केही ऐन तथा कानूनहरुमा अझै पनि संशोधनको आवश्यक रहेको बताए ।

समृद्धिका लागि गैरआवासीय नेपालीहरुको संयुक्त लगानी विषयको अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्तले कार्यक्रममा बोल्दै नेपालमा आर्थिक लगानीका अतिरिक्त ज्ञान र सिपसमेत भित्राउन जोड दिए । पन्तले गैरआवासीय नेपाली संघले यसअघि सारेको दर्दिखोला जलविधुत आयोजनामा भएको सामूहिक लगानी सफल भएको चर्चा गरे ।

उनले विदेशमा रहेका नेपालीहरुको ससानो पुँजीलाई देशको समृद्धिका जोड्नको लागि नेपालमा १० अर्बको लगानी परियोजना अगाडि सारिएको बताए । पन्तले १० अर्ब लगानीमा भएको साना लगानीबाट पनि ठूलो मुनाफा हुने जिकिर गरे । पन्तले विदेशमा बस्ने ६ लाख नेपालीलाई लक्ष गरी आइपीओ जारी गर्न लागिएको जानकारी दिए । उनले गैरआवासीय नेपालीहरुको सयुक्त लगानीमा स्थापन गरिएको एनआरएनए नेपाल डेप्लोमेन्ट फण्डमा ढुक्क भएर लगानी भित्राउन आग्रह गरे ।

एनआरएनए नेपाल डेप्लोमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल भट्टराईले नेपाल सरकारले गैरआवासीय नेपालीको लगानीलाई स्वीकृत गर्ने लेखांकन गर्ने र न्यूनतम सिमा सहजिकरण गरेको बताए । उनले गैरआवासीय नेपालीहरुले १० अर्बको फण्डमा लगानी गर्न चहाना राखेमा २ सय ५० डलरबाट सुरु गर्न सक्ने बताए । भट्टराईले १० अर्ब फण्डको लागि सर्वसाधारणको लगानीको लागि धितोपत्र बजारमा ६ महिनाभित्र जाने गरी काम थालिएको बताए ।

अष्ट्रियाका लागि नेपाली राजदूत भरतराज रेग्मीले गैरआवासीय नेपाली संघले भूकम्प, कोभिड जस्ता प्रकृतिक प्रकोपको बेला देशको लागि ठूलो सहयोग गरेको चर्चा गरे । उनले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए । उनले गैरआवासीय नेपालीहरुको आर्थिक डिप्लोमेसी, पर्यटन प्रर्वधन लगायतका क्षेत्रमा ठूलो सहयोगको अपेक्षा नेपाल सरकारले रहेको बताए ।

कार्यक्रममा महिला व्यवसायी अनुजा प्रधानले गैरआवासीय नेपाली महिलालाई व्यवसायी बनाउने नीति ल्याउन जोड दिइन् । उनले आफ्नो बैंक खातामा भएको पैसा लगानी गर्न आग्रह गर्दै धनी हुनको लागि एक मात्र विकल्प लगानी भएको बताइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले खाडी क्षेत्रमा नेपालीहरु बगाएको पसिनालाई सदुपयोग गर्न तर्फ नेपाल सरकारको ध्यानर्कषण गराए । उनले श्रमिकहरुलाई मात्र सामूहिक लगानीमा जोड्न सके मात्र ८० अर्बसम्मको लगानी भित्राउन सकिने बताए। उनले १० अर्बको लगानी समृद्ध नेपालको लागि पहिलो खुडकिलो भएको बताए ।

संघका प्रवक्ता शिवकुमार बरुवाले संचालन गरेको कार्यक्रममा संघका उपाध्यक्षहरु महेशकुमार श्रेष्ठ, आरके शर्मा, राज रेग्मी, अनुजा प्रधान लगायतले आआफ्ना भनाइ राखेका थिए ।