७ बैशाख २०८१, शुक्रबार
Follow Us

जी-७ बैठक : हिरोसिमामा विश्वका धनी र शक्तिशाली देशका प्रमुखहरु

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार १०:२१

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुग्नु भएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उहाँहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पिस मेमोरियल पार्कमा) स्वागत गर्नु भएको छ ।

हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उहाँकी पत्नी जिल बाइडेनसँगै हुनुहन्छ । त्यसैगरी बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमण गर्दै हुनहुनब्छ । हिरोशिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) -सन् १९४५ अगस्ट ६ मा संसारको पहिलो आणविक बम खसालिएको घटनाको दुःखद स्मृतिमा निर्मित संरचना हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोसिमामा हुने जी-७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुग्नु भएको हो ।

जी-७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलाइत र जर्मनी रहेका छन्। जापानले आफ्नो जी-७ अध्यक्षता अन्तर्गत अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक टापु, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ।

जी- ७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलाइत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिंग प्रेसिडेंसीको क्रममा), र युरोपेली संघका नेताहरूका लागि वार्षिक अन्तरराष्ट्रिय मञ्च हो। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हिरोशिमामा हुने जी-७ बैठकमा युरोपेली संघको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी मे १९ मा हिरोशिमा पुग्दै हुनुहन्छ र मे २०-२१ मा हुने जी-७ शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ ।
विश्व राजनीतिका प्रमुख नेताहरुलाई स्वागत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सन्देशमा भन्नु भएको छ- “मे १९ देखि २१ सम्म जी-७ शिखर सम्मेलन मेरो गृहनगर हिरोसिमामा हुदैछ। हिरोसिमा हरियाली चुगोकु हिमालले घेरिएको, शान्त सेतो अन्तर्देशीय सागरको अनुहारमा रहेको सुन्दर शहर हो।”

“म साँच्चै जी-७ नेताहरूलाई हिरोशिमामा स्वागत गर्न आतुर छु । यस वर्ष विश्वको ध्यान जापानमा केन्द्रित हुँदा यो सुन्दर परिदृश्य, परम्परागत संस्कृतिबाट विश्वलाई हाम्रो देशको आकर्षण देखाउने ठूलो अवसर हुनेछ।” उहाँले भन्नुभयो ।

यसअघि मे १८ मा जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नु भएको थियो । उहाँले बेलाइती समकक्षी ऋषि सुनकसँग पनि भेटवार्ता गर्नु भएको छ । किशिदाले जी ७ शिखर सम्मेलनमा भाग लिन हाल जापानमा रहेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गर्नु भएको छ ।

यसैबीच जी -७ का नेताहरूले शुक्रबार जापानको हिरोसिमास्थित हिरोसिमा शान्ति स्मारक उद्यानमा माल्यार्पण गर्नु भएको छ । उहाँहरूले हिरोसिमा पिस मेमोरियल पार्कमा वृक्षरोपण गर्नु भएको छ । हिरोशिमा मेमोरियलमा माल्यार्पण गरेपछि नेताहरूले सामूहिक तस्बिर समेत खिच्नु भएको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदा, युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल, अमेरिकी राष्ट्रपति जो बाइडेन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र जर्मन चान्सलर ओलाफ स्कोल्ज र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सामूहिक तस्बिर खिच्नु भएको हो ।
जापानले यसै वर्ष २०२३ मा जी-७ को अध्यक्षता ग्रहण गरेको हो।