११ बैशाख २०८१, मंगलवार
Follow Us

नयाँ इतिहास रचिन्छ होला भन्ने विश्वासका साथ भारत जाँदैछु : प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०८०, शनिबार ०८:१०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो पटक नयाँ इतिहास रचिने विश्वासका आफू भारत जान लागेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले मैले धेरै भन्न उचित हुँदैन । तर, एउटा नयाँ इतिहास यो पटक रचिन्छ होला भन्ने विश्वासका साथ म भारत जाँदैछु ।’

यही जेठको तेस्रो सातादेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री दाहालको भनाइ उनकै शब्दमा–
प्रधानमन्त्री भएपछि पहिलो पटक भारत नै जानुपर्छ भन्ने कुनै वैधानिक बाध्यता, कानूनी, राजनीतिक केही पनि छैन । तर, भारतसितको हाम्रो खुल्ला सीमाना, आर्थिक, राजनीतिक, सामाजिक र जनता–जनतावीचको सम्बन्धका दृष्टिकोणले जो विशिष्ट छ, दुनियाँमा अन्त कहीँ पनि देख्न पाइँदैन । त्यसो हुनाले यो परम्परा बस्दै आयो र सबै त्यसै गर्ने हुन गयो । एउटा कारण ।

तर, सधैं त्यस्तो हुँदैन भन्ने कुराको प्रमाण त म आफैँ हो । म यसअघि प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चीनको गरेको थिएँ र त्यो विषय धेरै चर्चामा पनि रह्यो । त्यसकारण अहिले पनि मैले फेरि बाध्यताका कारणले वा परम्पराकै कारणले भनेर मात्रै होइन, हाम्रो आवश्यकताका कारणले भारत भ्रमणमा जानु उचित हुन्छ भन्ने मलाई लागेको छ ।

भारत भ्रमणको तयारी राम्रो छ । यो पटक भारतले अलि वास्ता नगरेको हो कि भनेर सोध्नुभो, त्यस्तो होइन । भारत पनि धेरै गम्भीर भएको यो भ्रमणको तयारीमा मैले महसुस गरेको छु । र, नेपालतिरबाट पनि तयारी हामीले गम्भीररुपले नै गरेका छौं ।

पहिला यतिबेला म पुगेर फर्किसक्ने खालको तयारी थियो । तर, भारतकै चुनाव इत्यादिका कारणले त्यसलाई केही दिन स्थगित गर्ने कुरा आएपछि मैले केही दिन पोस्टपोन्ड गर्ने हो भने बजेट अगाडि हुँदैन, बजेट पछाडि मात्रै हुन्छ भनेर मैले नै भनेको हो ।

अहिले गम्भीर तयारी दुबैतिर भएको छ र केही नयाँ चिज प्राप्त हुन्छ नेपाललाई । नेपाल–भारत सम्बन्धको आयाम पनि नयाँ ठाउँमा उठ्छ भन्ने पनि विश्वास छ मलाई । शायद यो राम्रो अवसर हो नेपालका लागि पनि र भारतका लागि पनि । हामीले दुई पक्षीय सम्बन्धलाई बलियो पार्ने, दुई पक्षीय आर्थिक सहयोगका क्षेत्रहरुलाई नयाँ बनाउने ।

अहिले मैले धेरै भन्न उचित हुँदैन । तर, एउटा नयाँ इतिहास यो पटक रचिन्छ होला भन्ने विश्वासका साथ म भारत जाँदैछु ।