७ बैशाख २०८१, शुक्रबार
Follow Us

शेष घलेद्धारा एनआरएनए विधान विपरित ‘सशर्त एकता महाधिवेशन’ माग

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०८०, शुक्रबार ११:३७

लण्डन् । कतै गैरआवासीय नेपाली संघ र कतै एनआरएनए फाउण्डेशनको नाममा गैरआवासीय नेपालीहरुबीच गतिविधि गर्दै आएका एनआरएनए पूर्वअध्यक्ष शेष घलेले शसर्त एकताको महाधिवेशनको माग गरेको छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र संघका महासचिव गौरीराज जोशीबीच भएको भेटवार्तामा घलेले वर्तमान विधानको संरचनालाई चुनौती दिदै दुईवटा सर्त अघि सारेका हुन् ।

घलेले सबै पंञ्जीकृत सदस्यलाई मतदानको अधिकार दिनुपर्ने अडान राखेको बताइएको छ । तर वर्तमान विधानले राष्ट्रिय प्रतिनिधिहरुले केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ ।

उनले सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुनेभएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन माग गरेका छन् । गैरआवासीय नेपाली संघको एक उच्चपदाधिकारीले घलेले अघि सारेको दुवै सर्त आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा लागू हुन असम्भव रहेको बताए ।

‘गैरआवासीय नेपाली संघका अधिकांस सदस्यहरु प्रत्यक्ष निर्वाचनको पक्षमा रहे पनि संस्थागत संरचना नबनि सकेको अवस्थामा तत्काल लागू हुने अवस्था नरहेको’ ती पदाधिकारीले जानकारी दिए । उनले ‘पूर्वअध्यक्ष घलेलाई केन्द्रीय प्रतिनिधि बनेर आएर ११ औं महाधिवेशनमा आफ्नो विधान संशोधन प्रस्ताव पेश गर्न सुझाव दिए’ । उनले ‘घलेको प्रस्ताव आगामी १२ औं अधिवेशनबाट लागू गर्न संस्थाभित्र छलफल हुन सक्ने’ बताए ।

घलेले जोशीसंगको भेटमा विगतको अधिवेशनको कुरा उठाउँदै त्यसबेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै संघ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गरेका थिए। उनले यूरोपभ्रमणको क्रममा एनआरएनए फाउण्डेशनको गतिविधि कायम राख्ने जनाएका थिए ।

अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भएको व्यक्तिगत भेटवार्ता भएका विषयलाई जोशीले संस्थाभित्र इमेल मार्फत जानकारी गराए पछि घलेको प्रस्तावको आलोचना शुरु भएको हो । घलेले यसअघि संस्थाका विधि विधान अनुरुप चल्नु पर्ने भन्दै वकालत गर्दै आएका छन् ।

१० औं महाधिवेशनका बेला परराष्ट्र मन्त्रालयले विवाद मिलाउन जिम्मा दिएको पत्रको दुरुपयोग गर्दै सम्पूर्ण अधिकार पाएको दावी गर्दै घलेले कोरियाका विनोद कुवँरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। त्यसयता उनको सरकार, नेपाली कांग्रेस र संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो। घलेलाई दिएको पत्र बदर गर्दै परराष्ट्र मन्त्रलायले संघको विधान संशोधन गर्दै तीन जना अध्यक्ष कायम गर्दै गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सम्पन्न गरेको थियो ।

घलेले केही दिनअघि मात्र क्यानाडामा आफ्नो पक्षको सम्मेलन गरेका थिए । सो भेलामा घलेको लगानीमा नेपालमा शुरु हुन लागेको ग्रीन आइड्रोजन परियोजनाको वारेमा छलफल भएको थियो । भेलामा गैरआवासीय नेपाली संघको लोगो प्रयोग गरेर घलेको लगानीमा हुने सो परियोजनामा लगानी जुटाउने प्रयास भए पछि घलेप्रति संस्थापन पक्षले लोगो प्रयोग नगर्न चेतावनी दिएको थियो । टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उनी अमेरिकी भम्रणमा निस्केका हुन्।्।

भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अव एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भुमिका निर्वाह गर्न घलेलाई आग्रह गरेका थिए।

आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।