७ बैशाख २०८१, शुक्रबार
Follow Us

अबैध आप्रावासीलाई बेलायतले पानी जहाजमै राख्ने

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८०, मंगलवार ०६:००

लन्डन । बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएकाे छ । जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन । उनका अनुसार करदाताको पैसाबाट चल्ने होटलको दबाब कम गर्न अबैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन ।

त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा एउटा जहाज महिनाको अन्त्यसम्ममा तयार हुने प्रधानमन्त्री सुनकले बताए। साथै, अन्य दुईवटा जहाज पनि निर्माण हुनेछन् । यसमा लगभग १००० अबैद्य आप्राबासीलाई राख्न सकिनेछ ।

अवैध आप्रवासी रोक्ने विधेयक संसदबाट पारित भएको जानकारी दिदै प्रधानमन्त्रीले उनीहरुलाई अब जहाजमा राखिने जानकारी दिएका हुन । उनका अनुसार अब बेलायती सरकारलाई गैरकानुनी रुपमा देशमा आउनेलाई थुन्ने र देश निकाला गर्ने अधिकारसमेत पाएकाे छ । ‘म प्रतिज्ञा गर्छु कि हामी अवैध आप्रवासीहरूलाई होटलबाट बाहिर निकाल्नेछौं, त्यस्ता व्यक्तिहरूलाई सैन्य प्रतिष्ठानसहित दुई वैकल्पिक स्थानमा राखिनेछ’ उनले भने ।

सुनकले स्थानीय समुदायको दबाब कम गर्न पानीजहाजमा मानिसलाई राख्न खोजिएको स्पष्टीकरण दिएका छन् । उनका अनुसार जसका लागि पहिलो पानी जहाज चाँडै पोर्टल्यान्डमा उत्रदैछ भने थप दुईवटा जहाजहरू पनि चाँडै त्यसका लागि प्रयोग ल्याइनेछ ।