२२ बैशाख २०८१, शनिबार
Follow Us

ज्ञानेन्द्र आलेद्धारा एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

नेपालब्रिटेन संवाददाता
३ असार २०८०, आईतवार १५:०३

लन्डन । एनआरएनए यूकेको आउंदो जुलाईमा हुने निर्वाचन नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरु खुल्न थालेका छन्।

वर्तमान कार्यसमितिका सचिव ज्ञानेन्द्र आलेले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आकांक्षा सार्वजनिक गरेका छन्।

सदस्य र सचिवका रुपमा एकएक कार्यकाल काम गरिसकेका उनले विभिन्न प्रतिवद्धतासहित उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

एक वक्तव्य जारी गर्दै आलेले वंशजको नागरिकता अभियान, गोर्खाहरुको अधिकार, संस्थाको संरचनागत सुधार, आर्थिक पारदर्शितालगायत एजेन्डामा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

एनआरएन अभियानमार्फत् आफूले नेपाल र नेपालीहरुको बृहत्तर हितमा सकारात्मक तथा प्रभावकारी काम गर्दै आइरहेको दाबी उनले गरेका छन् ।

एनआरएनएमा गोर्खाहरुको मुद्धा उठाउने, गैरआवासीय नेपालीलाई नेपालसंग जोड्ने, संस्थाभित्र संरचनागत शुद्धीकरणको आवाज उठाउनेदेखि कोभिड-१९ आर्थिक संकलन र यूक्रेन युद्धपीडितलगायतका सहयोग अभियानमा प्रभावकारी भूमिका निर्वाह गरेको उनले उल्लेख गरेका छन्।

एनआरएनए यूकेको आगामी जुलाई २२ मा तय अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।