२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूके सदस्यताको लागि मिति नथपिने

नेपालब्रिटेन संवाददाता
६ असार २०८०, बुधबार १५:४६

एनआरएनए युकेको सदस्यता आबेदन शुक्रबार २३ जुन मध्यरात सम्म, मिति नथपिने

लण्डन। गैरआवासीय नेपाली संघ युकेको सदस्यता लिने मिति अब २ दिन बाँकी रहेको छ । यसरी सदस्यता लिने समय सिमा अन्त्य हुनै लाग्दा सदस्य बन्नेहरुको लर्को लागेको छ । यसबाट एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्का र सिंगो कार्यसमिति नै उत्साहित बनेको छ । हालै एनआरएनए युके पदाधिकारी र निर्वाचन समितिको संयुक्त बैठक बसेर आगामी अधिवेशन र निर्वाचनका बारे गम्भीररुपमा छलफल गरेको थियो ।

त्यसो त, अप्रिल २३ मा बसेको एनआरएनए युकेको बैठकले जुलाई २२ मा निर्वाचन गर्ने मिति तय गरेको थियो ।

निर्वाचन अघि सदस्यता आह्वान गरिएको हो । सदस्यता लिनका लागि आवदेन दिन एनआरएनए युकेका प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवि ढकालले जानकारी दिए । उनले निर्वाचन प्रयोजनका लागि सदस्यता अनिवार्य रहेको र सदस्यता लिनका लागि अब २ दिनमात्रै बाँकी रहेको जानकारी दिए ।

एनआरएनए युकेको सदस्यता लिनका लागि २३ जुन २०२३ को राति ११ः५९ बजेसम्म आवेदन लिइसक्नुपर्ने छ । आवदेन दिने समय बन्द भएपछि निर्वाचन समितिले त्यसैकै आधारमा प्रक्रिया पूरा गरेर निर्वाचन कार्यक्रम अघि बढाउने छ ।

जस अनुसार नयाँ आवेदन दिएका वा ड्राफ्टमा भएका आवेदकहरुले जुन २३ तारिखको ५ बजेभित्र प्रक्रिया पूरा गर्न पनि आग्रह गरिएको सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलले जानकारी दिए । निर्धारित समय भन्दा ढिला भएमा सदस्यता प्राप्त नहुने पनि पोखरेलले बताए ।

यसैबीच, एनआरएनए युकेको सदस्यता आबेदनको मिति नथपिने अध्यक्ष सुनिलबाबु खड्काले प्रस्ट पारेका छन्। आजै सामाजिक संजाल मार्फत एक सूचना प्रकाशित गर्दै खड्काले उक्त कुरा बताएका हुन्।

सदस्यताको लागि मिति नथपिने बारे एनआरएनए यूकेको सूचना

गैरआवासीय नेपाली संघ यूकेको जुलाई २३ तारिख २०२३ हुने निर्वाचनको लागि पंन्जिकृत सदस्य बन्ने अन्तिम मिति ‘२३ जुन साँझ ११ः५९ बजे’ सम्म मात्र रहेको पुनः जानकारी गराइन्छ । केही सदस्यहरुले सदस्यताको लागि मिति थप हुने भन्ने भ्रम समाजमा सृजना गरेको भन्ने जानकारी आएको हुदां त्यस्ता गलत सूचनाको पछि नलागि तोकिएको समयभित्रै आआफ्नो सदस्यता सुरक्षित गर्न बेलायतस्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गरिन्छ ।

सदस्य बन्ने अन्तिम मिति : २३ जुन साँझ ११ः५९ बजे सम्म

भवदिय
सुनिलबाबु खड्का
अध्यक्ष, गैरआवासीय नेपाली संघ यूके
२१ जुन २०२३