२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएलाई सरकारी जग्गा बेच्ने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ असार २०८०, मंगलवार ०६:४०

लण्डन । काठमाण्डौंस्थित गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय रहेको सरकारी जग्गा झुक्काएर बेच्ने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ पक्राउ परेका छन् ।

डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको ललिता निवास जग्गा प्रकरण अनुसन्धान प्रहरीले अघि बढाउन थालेको हो । त्यस क्रममा प्रहरीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको हो ।

गुरुङले तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई समेत झुक्काएर सो जग्गा बिक्री गरेका थिए । एनआरएनए स्रोतका अनुसार उनले सो जग्गा सरकारी ठहरिएमा पैसा फिर्ता दिने कागज गर्ने बताए पनि अन्तिम समयमा आएर मैखिक रुपमा मात्र सरकारी जग्गा ठहरिएमा पैसा फिर्ता दिने बचन दिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतका अनुसार गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन् । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन् ।

केसी डिल्लीबजार मालपोतमा बसेर पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञसमेत भएका थिए । गौतम र कपाली पनि कर्मचारी हुन् । ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानका सिलसिलामा उनी पक्राउ परेको सीआईबी श्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, त्यो घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी भइरहेको छ