मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।
खड्काले ओमानको राजधानी मस्कटमा बुधवार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै दूत गतिमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे । उनले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने विश्वास दिलाए ।
खड्काले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए ।
मन्त्री खड्ककाले एनआरएन नागरिकता छिट्टै कार्यान्वयनमा आउने विषयमा बोल्दै भने ‘संविधानले परिकल्पनागरे अनुसार नागरिकता ऐन आएको छ छिट्टै नियमावलीको काम सकिन्छ । काम सुरु भइसकेको छ । सरकार र सिंगो संसद एनआरएनएको पक्षमा छ ।’
उनले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए ।
उनले भने ‘विदेशमा सिकेको ज्ञान सीपलाई जुन क्षमता र हैसियत मा सकिन्छ त्यसरी प्रयोग गर्न छलफल गरौँ सरकारले गर्ने निर्णय गर्छ ।’
मन्त्री खड्काले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन आग्रह गरे ।
सम्मेलनका बिशिष्ठ अतिति पूर्व उपप्रधानमन्त्री एवं संघीय संसदका माननीय सांसद रघुवीर महासेठले गैरआवासीय नेपाली संघलाई सक्रिय र बलियो बनाउ जोड दिए । उनले संस्था भित्र एकता कायम गरि एकीकृत रुपमा अघि बढाउन नेपालका राजनीतिक दलहरुले कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाए ।
उनले भने ‘राजनीतिक दलबाट विगतमा जसरी हस्तक्षेप भयो अबका दिनमा नहोस् । एनआरएन कसको लागि बलियो हुने नेपालका लागि एनआरएनएलाई एक बनाउन हामी एकमत छौँ ।’ उनले एनआरएनका विषयमा कुनै दलमा केही समस्या नभएको बताए ।
सम्मेलनमा पूर्वउपप्रधानमन्त्री एवं संघिय संसदका माननीय सांसद रघुवीर महासेठ,वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राम चन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ लगायतको उपस्थिति रहेको छ यस्तै, नेपाली दुतावास, बहराईनका महामहिम राजदुत तिर्थ राज वाग्ले, नेपाली दुतावास, साउदी अरबका महामहिम राजदुत नवराज सुवेदी, नेपाली दुतावास, कतारका महामहिम राजदुत डा। नरेश बिक्रम ढकाल, नेपाली दुतावास, ओमनका महामहिम राजदुत डोरनाथ अर्याल अन्य सरोकारवाला निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता सम्मेलनमा रहेको छ ।
सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार ९३० जून, २०२३० सम्पन्न हुनेछ ।