३२ असार २०८२, बुधबार
Follow Us

एनआरएनए युकेको ११ औं महाधिवेशन सम्पन्न, संस्थालाई एकताबद्ध बनाउन जोड

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८०, सोमबार २०:३७

लन्डन । एनआरएनए युकेको विवादले संस्थाको छविमा नराम्रो धक्का लागेको भन्दै एनआरएनएका नेताहरुले संस्थालाई एकजुट पारेर अगाडि बढ्न आग्रह गरेका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको ११ औं महाधिवेशनलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले केन्द्रमा भएको सहमति अनुसार युकेमा पनि एकजुट हुन र सानातिना मतभेद भए तिनलाई बिर्सेर अगाडी बढ्न आग्रह गरे।

एनआरएनए एउटा अभियान भएकाले यसमा कसैको पनि जीतहार नहुने उनले बताए। संघ स्थापना भएको २० वर्ष पछि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आएको र उक्त नागरिकता सहज र सुलभ रुपमा सबै एनआरएनहरुलाई उपलब्ध होस् भनेर आफुहरुले नेपाल सरकारका वरिष्ठ अधिकारीहरुसंग कुरा गरिरहेको बताए।

उपाध्यक्ष डा हेम राज शर्माले एनआरएनएलाई पैसा र राजनीतिको प्रभावबाट मुक्त गर्न आफुले अनलाइन मतदानमा जान जोड दिंदै आएको बताए। उनले नेपाल बाहिर हुर्की रहेको दोश्रो पुस्ताले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरिरहेको बताउंदै उनीहरुलाई नेपालसंग जोडेर ‘ब्रेन गेन’ गर्नु पर्ने बताए। उनले संसारभरिका नेपालीलाई एक अर्कासंग जोड्न पनि यो संस्थालाई बचाउनु पर्ने बताए।

संघका उपमहासचिव रामशरण सिम्खडाले सुनिल बाबु खड्का अध्यक्ष रहेको एनआरएनए युकेलाई केन्द्रले समेत मान्यता दिएकाले भ्रममा नपर्न सबैलाई आग्रह गरे। उनले संस्थाको विधिविधान नमान्ने, केन्द्रको निर्देशन नमान्ने, आफुखुसी स्ट्रक्चर बनाउन खोज्ने गर्दा संस्था धराशायी हुने चेतावनी दिए। उनले संस्था को इतिहास नबिर्सन र सदस्य हरु बाट उठाएको रकम जथाभावी खर्च नगर्न पनि सुझाव दिए।

संघका पूर्व केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले बेलायतको विवादका कारण एनआरएनएको ‘चार्म’ हुन नसकेको बताए। उनले रचनात्मक कुरामा ध्यान दिन र आगामी अक्टोबर महिनादेखि एनआरएनए युकेलाई ट्रयाकमा ल्याउन सुझाव दिए।

युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराईले खेलाडीले अम्पायर र लाइन्सम्यानलाई नचिन्ने कस्तो खेल होला भन्ने प्रश्न गर्दै चाहे खेल होस् वा संस्था चलाउने कुरा होस्, विधिविधान र प्रक्रिया सबैले मान्नु पर्ने बताए। उनले एनआरएनए युकेले थुप्रै उतारचढाव व्यहोरेको बताउंदै संस्थालाई एक भएर अगाडी बढ्न सुझाव दिए। ‘नेपाल सरकारसंग सहकार्य नगरेर हाम्रा माग पुरा हुँदैनन्, त्यसैले हामीले सरकारसंग सहकार्य गरेर जानु पर्छ,’ उनले भने।

कोषाध्यक्ष तथा महासचिवको प्रतिवेदन पारित

महाधिवेशनमा कोषाध्यक्ष बिष्णु खरेलले संस्थाको आयव्यय विवरण प्रस्तुत गरे भने महासचिवको प्रतिवेदन उपाध्यक्ष गोविन्द खरेलले पढेर सुनाए। महाधिवेशनले दुवै प्रतिवेदन सर्वसम्मतिले पारित ग-यो।
एनआरएनए युकेका उपाध्यक्ष डा नारायण कडेलले एनआरएनए युकेले नेपाल बार एसोसियशनसंग एक समझदारी पत्रमा हस्ताक्षर गरेको र बेलायतमा बस्ने कुनै पनि नेपालीलाई आवश्यक परे नेपाल बारले निशुल्क कानूनी परामर्श उपलब्ध गराउने जनाए।

महाधिवेशनमा उप महासचिव रामशरण सिम्खडा, युरोप उपक्षेत्रीय संयोजक दयानिधि सापकोटा लगायतले शुभकामना दिएका थिए भने निर्वाचन समितिका सदस्य बिपिन निरौलाले २२ जुलाईमा हुन गैरहेको मतदान प्रक्रियाबारे जानकारी दिए। त्यस्तै वेल्स राज्य समन्वय परिषदका अध्यक्ष कृष्ण भण्डारी, स्कटल्याण्ड राज्य समन्वय परिषदका सचिव मनिष खत्रीले आआफ्नो राज्यको प्रगति विवरण सुनाएका थिए।

महाधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष कुल आचार्य तथा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्काले संयुक्त रुपमा गरेका थिए।

कार्यक्रमको संचालनका सचिव ज्ञानेन्द्र आलेले गरेका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपक श्रेष्ठले सबैलाई स्वागत गरे। अध्यक्ष सुनिल बाबु खड्काले सबैलाई धन्यवाद दिए।

२२ जुलाईमा हुन गैरहेको चुनावमा हित काजी श्रेष्ठ, दिनेश घिमिरे तथा नारायण कडेल एनआरएनए युकेको अध्यक्ष पदका आकांक्षी छन्।
(सबै तस्बिरहरु: शिव भण्डारी)

धेरै पढिएको