२३ बैशाख २०८१, आईतवार
Follow Us

न्युजर्सीका उपसभामुख नेपाल भ्रमणमा

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार १४:४४

काठमाडौं । अमेरिकी राज्य न्युजर्सीका उपसभामुख गोर्डन एम जोनसन नेपाल भ्रमणमा आउने भएका छन् । एम जोनसनले उपसभामुख गंगाप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा चैत २७ गतेदेखि बैशाख २ गतेसम्म नेपाल भ्रमण गर्न लाग्नु भएको हो । उपसभामुख यादवका राजनीतिक सल्लाहकार शम्भुप्रसाद घिमिरेका अनुसार भ्रमण टोलीमा एम जोनसनका श्रीमति ज्याक्लिन एम जोनसन, वातावरण तथा भूसंरक्षण समितिका अध्यक्ष टिम इस्टेन्सन, मुख्य सचिव चिल्स हिलम्यान छन् ।
संघीय संरचनाबारे अनुभव साटासाट गर्ने उद्देश्यले उपसभामुख एम जोनसनको नेपाल भ्रमण हुन लागेको सल्लाहकार घिमिरेले जानकारी दिए ।
नेपाल भ्रमणका क्रममा उपसभामुख एम जोनसनको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, कांगे्रस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायतसँग भेट गर्नेछ ।
उच्च राजनीतिक भेटघाटपछि भ्रमण टोली पोखरा जानेछ । उपसभामुख एम जोनसनले भक्तपुरको कटुन्जेमा नेपाल–न्यूजर्सी अमेरिका लोकतन्त्र अध्ययन केन्द्र भवनको शिलन्यास गर्ने कार्यक्रम रहेको ग्रामीण क्लब हाउस नेपालका अध्यक्ष मुकुन्द सुवेदीले बताए । उक्त भवन निर्माणका लागि ग्रामीण क्लब हाउसले संयोजन गरेको छ ।