२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए नागकिरता सम्बन्धी नयाँ नियमावली कानुन मन्त्रालय पठाउने तयारी

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८०, शुक्रबार ०२:३२

लण्डन । गैरआवासीय नेपालीहरुलाई दिइने एनआरएनए नागरिकता सम्बन्धी कार्यविधि जारी गर्ने सरकारले तयारी थालेको छ ।

सरकारले नागरिकता ऐन संशोधन गर्दै विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ।

संशोधित ऐन अनुसार गृह मन्त्रालयले नयाँ नियमावली तयार गरेर कानुन मन्त्रालयमा पठाउन लागेको जनाएको छ।

नागरिकता नियमावलीमा गैर आवासीय नेपाली नागरिकता लिन अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको छ।

नागरिकता लिन भने व्यक्ति आफैँ उपस्थित हुनु पर्नेछ। नागरिकता आफ्ना परिवारको बसोबास रहेको जिल्लाबाट लिन सकिनेछ।

नयाँ नियमावलीमा कानुन मन्त्रालय बाहेकका मन्त्रालयको राय सुझाव लिइसकिएको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा प्रमुख एवं सहसचिव रुद्रा देवी शर्माले जानकारी दिइन।

‘नागरिकता तेस्रो संशोधन नियमावली २०८० को सम्बन्धमा विभिन्न निकायबाट राय प्राप्त भइसकेको छ। रायलाई समेटेर गृह मन्त्रालयले कानुन मन्त्रालयमा पठाउँदै छ,’सहसचिव शर्माले भनिन् ‘नियमावली मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुन्छ।

अरू मन्त्रालयको राय आइसकेकाले कानुनको आउने बित्तिकै मन्त्रिपरिषद्मा जान्छ। छिटो गर्ने प्रक्रियामा लागिरहेका छौ।’