१५ बैशाख २०८१, शनिबार
Follow Us

अस्ट्रेलिया र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दै

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०८०, बुधबार ०५:२७

सिड्नी । महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज सहआयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ ।

सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा नेपाली समयअनुसार दिउँसो पौने चार बजे खेल सुरु हुनेछ । यो खेलका लागि सबै ७५ हजार टिकट बिक्री भएको छ । जसमा अधिकांशले घरेलु टोलीको समर्थन गर्नेछन् ।

अस्ट्रेलिया क्वाटरफाइनलमा फ्रान् माथि पेनाल्टी सुटआउटमा ७–६ को रोमाञ्चक जित हात पार्दै पहिलो पटक अन्तिम चारमा प्रवेश गरेको हो । उक्त खेलमा निर्णयका लागि कुल २० पेनाल्टी प्रहार भएको थियो । जुन महिला तथा पुरुष विश्वकप इतिहासकै लामो पेनाल्टी सुटआउट हो ।

अस्ट्रेलियन प्रशिक्षक टनी गुस्टाभ्सनले इंग्ल्यान्डसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरेका छन् । उनले घरेलु समर्थकको आडमा जीवनकै ठूलो खेल जित्ने लक्ष्य राखेका छन् । गुस्ताभ्सनले मुख्य खेलाडी साम कर फिट भएको बताए पनि सुरुवाती एघारमा हुने नहुने बारे केही खुलाएका छैनन् । यता इंग्ल्यान्डकी प्रशिक्षक सरिना भिगमनले अस्ट्रेलिया करको मात्रै भरमा नभएको प्रतिक्रिया दिएकी छन् । उनको नेतृत्वमा इंग्ल्यान्डले पछिल्ला ३७ खेलमा मात्र एकमा हार बेहोरेको छ ।

इंग्ल्यान्डको अपराजित यात्रामा ब्रेक लगाउने अस्ट्रेलिया नै हो । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अस्ट्रेलिया २ – ० ले विजयी हुँदा कर र चार्लट ग्रान्टले गोल गरेका थिए । अघिल्लो वर्ष युरो च्याम्पियन बनेको इंग्ल्यान्ड विश्वकपको फाइनल भने अहिलेसम्म पुग्न सकेको छैन । अस्ट्रेलिया र इंग्ल्यान्ड विश्वकपमा पहिलो पटक भिड्दैछन् । विजेताले उपाधिका लागि स्पेनसँग खेल्नेछ ।