१६ बैशाख २०८१, आईतवार
Follow Us

अधिकारकर्मी सरस्वती नेपाली सम्मानित

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०८०, बिहीबार १८:५४

काठमाडौं । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटेको ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन अवार्ड– २०२३’ द्दारा सम्मानित अधिकारकर्मी सरस्वती नेपालीलाई काठमाडौंमा बधाई ज्ञापन गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड प्राप्त गरेर स्वदेश फर्किएकी अधिकारकर्मी नेपालीलाई बिहिबार काठमाडौंस्थित अनामनगरमा एक विशेष कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरिएको हो ।

उक्त कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ नेपाल र प्रेस सर्कल नेपालले आयोजना गरेका थिए भने परदेशमा बस्ने नेपालीहरुको साँझा संस्था एनाअरएनए नन रेसिडेन्ट नेपाली एशोसियसन क्यालिफोर्निया, अमेरिका प्रबर्धकका रुपमा रहेको थियो ।

कार्यक्रममा विशेष अथितिका रुपमा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष एवम् संविधानसभा सदस्य विनोद पहाडी रहेका थिए । उनले नेपालको दूर दराजमा जन्मिएर पनि विश्वमा नेपाल र नेपालीको नाम चिनाउन सफल भएकोमा अधिकारकर्मी नेपालीलाई बधाई दिनुको साथै आगामी दिनमा पनि अधिकारकर्मी नेपालीले आफ्नो यात्रालाई निरन्तरता दिनेमा विश्वस्त रहेको बताए ।

त्यस्तै प्रमुख अथिति एवम् सम्मानित व्यक्तित्व नेपालीले आफूले अवार्ड प्राप्त गरेर नेपाल फर्किदा गरिएको उक्त सम्मानको प्रशंशा गर्दै धन्यवाद व्यक्त गरेकी थिइन् । उनले आफू स्कुले जीवनदेखि नै समाजमा भएका कुरीति र कुसस्कारविरुद्ध अवाज उठाउन थालेको बताइन् ।

अधिकारकर्मी नेपालीले २०५२/०५३ सालदेखि नै आफूले बैतडी जिल्लामा कथित उपल्लो भनिने जातिहरुविरुद्ध विद्रोह छेड्न थालेको भन्दै त्यसबेला कथित उपल्लो जातिका मानिसहरुले आफूहरुमाथि गरेको थिचोमिचो र आफूहरुले सुरु गरेको विद्रोहलाई दबाउन उनीहरुले दिएको यातना लगायतका विगतका अनुभवहरु समेत सुनाइन् ।

‘छोएको पानी’ नचलेपछि स्कुले जीवनबाटै मौन विद्रोह सुरु गरेको बताउँदै उनले आफुले पुरस्कार पाउने उद्देश्यले नभई समाजमा भएको विभेदलाई जरैदेखि उखेलेर फाल्नुको साथै सबै समान भएको र सबैले समानपूर्वक रुपमा जीउन पाउनुपर्छ भनेर यो क्षेत्रमा लागेको बताइन् । आफुहरुले बैडती जिल्लामा २०६० सालमै हलिया मुक्त जिल्ला घोषणा गर्नको लागि प्रशासनलाई दबाब दिएको उनले बताइन् ।

नेपालीले आफ्नो प्रयासमा नेपालको ग्रामीण पश्चिमी जिल्लाहरुमा दर्जनौं दलित परिवारहरुलाई कानूनी रुपमा जग्गा उपलब्ध गराउनुको साथै न्यायको खोजीमा जातीय भेदभावविरुद्धको मुद्दामा नेपालमा पहिलो पटक सफल अभियोजनसहित धेरै जातीय भेदभावविरुद्धको अभियोगमा जित हासिल गरेको बताइन् । उनले आफुले दलित समुदायको लागि मात्रै नभएर पछाडी परेका गैरदलित क्षेत्रका समुदाय र व्यक्तिहरुको लागि पनि काम गर्दै आइरहेको बताइन् । दलितहरुको सम्मान र पहिँचानको लागि सबैले साँझा लक्ष्य तथा रणनीति बनाएर अगाडी बढ्नुपर्ने अधिकारकर्मी नेपालीको भनाई रहेको छ ।

अधिकारकर्मी नेपालीलाई राष्ट्रिय दलित पत्रकार संघ नेपाल र प्रेस सर्कल नेपालका तर्फबाट अध्यक्ष पहाडीले र एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियसन क्यालिफोर्निया, अमेरिकाका अध्यक्ष माधव मरासिनीको तर्फबाट नेपालस्थित देउराली फाउण्डेसनका अध्यक्ष भीम घिमिरेले ताम्रापत्रसहितको बधाई तथा शुभकामना पत्र अवार्ड विजेता अधिकारकर्मी नेपालीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटी, श्रमजीवी पत्रकार महासंघका अध्यक्ष जन्मदेव जैसी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, शिक्षा पत्रकार मञ्चका अध्यक्ष कृष्ण मल्लसहितका पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

दलित समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गर्नुको साथै सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लडेकी अधिकारकर्मी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली हुन ।