२४ असार २०८२, मंगलवार
Follow Us

कतारमा एनआरएन नेतृत्वबारे निर्णायक वार्ता डा. बद्री केसीद्वारा वरिष्ठताका आधारमा सहयोग गर्न आरके शर्मालाई आग्रह

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०८०, बुधबार ०६:१५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अक्टुबर १९ मा हुने निर्वाचन नजिकीदै गर्दा अध्यक्षका प्रत्यासीहरुले वार्तालाई तीब्रता दिएका छन् । यसबीच अध्यक्षका प्रत्यासीद्वय डा. बद्री केसी र आरके शर्माबीच मंगलबार साँझ कतारको दोहामा निर्णायक वार्ता भएको छ ।

समाचार स्रोतका अनुसार कार्यकारी अध्यक्ष डा. केसीले अनुभव र वरिष्ठताका आधारमा संघको नेतृत्व अन्तिम पटक सहयोग गर्न अर्को प्रत्यासी शर्माले आग्रह गरेका थिए । डा. केसी जापान, मलेसिया, ओमानमा रहेका महाधिवेशन प्रतिनिधिसँग छलफलपछि आरके शर्मासँग वार्ता गर्न कतार पुगेका हुन् । वार्तामा शर्माले मध्यपूर्वले एनआरएनको नेतृत्व पाउनुपर्ने लामो सपना भएको हुनाले यसपटक आफूलाई सहयोग गर्न आग्रह गरे ।

दुई प्रत्यासीबीच ११ औं महाधिवेशन भव्यरुपमा सम्पन्न गर्न सहमति, सहकार्य गरेर अगाडि बढ्ने सहमति जुटेको बताइएको छ । श्रोतका अनुसार दुवैजनाले आ–आफ्नो समूह छलफल गरेर काठमाडौंमा अर्को बैठक गर्ने सहमति गरे ।

यसैबीच आरके शर्माले आजै कतारबाट विशेष समारोहबीच उम्मेदवारको औपचारिक घोषणा गर्दैछन् भने केसीले भर्चुओलमार्फत् उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । संघका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले गत साता नै उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का प्रत्यासी रविना थापाले भोलि ११ गते बिहीबार रेडिसन होटलबाट उम्मेदवारी घोषणा गर्दैछन् ।

गैरआवासीय नेपाली संघका प्रभावशाली अध्यक्षका उम्मेद्वार डा. हेमराज शर्मा सहमति जुटाउन आन्तरिक प्रयास गोप्यरुपमा जारी राखेका छन् ।

धेरै पढिएको