१९ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतका महेश अधिकारीले एनआरएनए युरोप उपसंयोजकमा उम्मेद्वारी दिने

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०८०, आईतवार २०:१९

लन्डन। भद्र र शालिन छविका धनी बेलायतस्थित सामाजिक अभियन्ता महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवार बन्ने भएका छन्।

आइतबार मिडल्यान्ड र सिंगो बेलायतका दर्जनौँ एनआरएनए अभियन्ता एवम् सामाजिक संघसंस्था तथा समुदायका प्रतिनिधिलाई भर्चुअल साक्षी राखेर उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरे ।

अधिकारी सन् २०२१-२०२३ कार्यकालका लागि बेलायतबाट निर्वाचित आइसीसी सदस्य हुन्।एनआरएनए आइसीसीमा सदस्यका रुपमा काम गरिसकेपछि थप जिम्मेवारी बोक्ने अभिलाषासहित युरोप उपसंयोजकमा उम्मेद्वारी दिन लागेको उनले बताए।

‘संस्था विवाद र विभाजनको अफ्टेरो मोडमा पुगेका बेला आइसीसी सदस्यका रुपमा निर्वाचित भएर धेरै सिक्ने र अनुभव बटुल्ने मौका पाएको छु’, अधिकारीले भने, ‘अब त्यही अनुभव, ज्ञान र दृढ ईच्छाशक्ति लगाएर संस्था र आम गैरआवासीय नेपालीको पक्षमा काम गर्ने सोच बनाएको छु।‘

अधिकारीको उम्मेदवारीप्रति बेलायतस्थित दर्जनौँ एनआरएनए अभियन्ता, संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाले समर्थन जनाएका छन्। एनआरएनए अभियानका एक अनुभवी, सक्षम र योग्य पात्रका रुपमा उनी संस्था र अभियानको लागि उपयुक्त रहेको उनीहरुको धारणा थियो ।

एनआरएनए केन्द्रीय उपमहासचिव रामशरण सिम्खडा, प्रवक्ता सोम सापकोटा, युरोप उपसंयोजक दयानिधि सापकोटा, आइसीसी सदस्य राजेन्द्र पुडासैनी, दिनेश घिमिरे, कोशलेश्वर ढकाल र विष्णु चालिसे,प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुषाल, एनआरएनएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङ, पूर्व महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड अध्यक्ष शम्भु अर्याल, एनआरएनए स्कटल्यान्ड अध्यक्ष दिवाकर पाण्डे, अग्रज पत्रकार भगिरथ योगी, संगीता मरहट्ठा, सरस्वती केसी,रोजिना प्रधान राईलगायतले अधिकारीको उम्मेद्वारीमा समर्थन जनाउँदै शुभकामना व्यक्त गरे।

त्यस्तै, मिडल्यान्डका लेष्टर, पिटरबरो, नटिङहम, बर्मिङहम, यार्डलीसहितका सबै क्षेत्रस्थित नेपाली संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि अधिकारीको उम्मेद्वारीप्रति समर्थन र सहयोगको प्रतिवद्धता गरे।

कार्यक्रमको अध्यक्षता गरेका साझा नेपाली समाज यूकेका अध्यक्ष दीपक सापकोटाले मिडल्यान्डका सबै नेपाली एवम् संघसंस्थाको प्रतिनिधित्व गर्दै अधिकारीले एनआरएनए युरोप उपसंयोजकमा उम्मेद्वारी दिएको जनाउँदै सिंगो मिडल्यान्ड उनको समर्थनमा उभिने जानकारी गराए ।

एनआरएनए आइसीसी मानार्थ परिषदका पूर्व सदस्य राणबहादुर खाती क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा युवा अभियन्ता पवन शर्माले स्वागत मन्तव्य दिएका थिए।कार्यक्रम संयोजनमा नारायण फुँयालले विशेष भूमिका निर्वाह गरेका थिए।

युरोप उपसंयोजक पदका उम्मेद्वारी घोषणा गरेका अधिकारी एनआरएनएनए अभियानमा पछिल्लो डेढ दशकदेखि सक्रिय छन्।उनले यसअघि आइसीसी सदस्यका साथै कयौं कार्यकाल एनआरएनए यूके सल्लाहकारको रुपमा पनि संस्थामा योगदान गरेका छन्।

मिडल्यान्डका सबै नेपाली संस्थाको सहभागिता रहेको साझा नेपाली समाज यूकेका पूर्व अध्यक्ष समेत रहेका उनी अहिले पनि विभिन्न चार संस्थामा ट्रस्टीसहित थुप्रै सामाजिक संस्थाहरुमा संलग्न छन्।

लमजुङ पुर्ख्यौली घर भएका अधिकारी सन् १९९९ देखि बेलायतमा छन्। हाल सपरिवार पिटरबरो बस्दै आएका उनले मिडल्यान्ड र लन्डनमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका छन्।