लण्डन, । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विभिन्न मुलुकका लागि सिफारिस गरिएका नवनियुक्त राजदूतहरूसँग आगामी दिनमा सहकार्य गर्न आफूहरू उत्साहित रहेको जनाएको छ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूतका लागि सिफारिस भएका सबै व्यक्तित्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।
विज्ञप्तिमा नेपाल सरकारद्वारा भारत, चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (यूके), जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि प्रस्तावित सम्पूर्ण राजदूतलाई संघका तर्फबाट हार्दिक बधाई ज्ञापन गरिएको छ।
सम्बन्धित क्षेत्रको ज्ञान, अनुभव, विशेषज्ञता तथा व्यावसायिक पृष्ठभूमि भएका व्यक्तित्वलाई राजदूतका रूपमा सिफारिस गरिनुलाई संघले सकारात्मक कदमका रूपमा लिएको जनाएको छ।
एनआरएनएका पूर्वपदाधिकारी तथा नेपाली डायस्पोरासँग नजिक रहेर काम गरेका व्यक्तित्वहरूसमेत राजदूतका लागि सिफारिस भएकोमा संघले विशेष खुसी व्यक्त गरेको छ। उहाँहरूको अनुभव, ज्ञान र नेपाली समुदायसँगको निकट सम्बन्धले सम्बन्धित मुलुकमा नेपालको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन तथा दूतावास र नेपाली समुदायबीचको सहकार्यलाई सुदृढ बनाउन योगदान पुग्ने विश्वास संघले व्यक्त गरेको छ।
नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउन तथा विदेशमा रहेका नेपाली समुदायका साझा हित र सरोकारका विषयमा नवनियुक्त राजदूतहरूसँग निरन्तर सहकार्य र समन्वय गर्ने अपेक्षा एनआरएनएले राखेको छ।
संघले सिफारिस गरिएका सम्पूर्ण राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सफल होस् भन्ने शुभकामना दिँदै उहाँहरूको आगामी कार्यकालको पूर्ण सफलताको कामना गरेको छ।