लण्डन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेदरल्याण्डस्थित नेपाली जनसम्पर्क समितिका नेता सालीक गौतमले उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गौतम नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डका निवर्तमान सभापति हुन्। पार्टीमा आफूले गरेको योगदान र राजनीतिक अनुभवका आधारमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको गौतमले नेपालब्रिटेन डट कमसँग बताए।
राजनीतिक परिवर्तन र समयको आवश्यकताअनुसार पार्टीमा नयाँ पुस्ता तथा युवालाई अवसर दिनुपर्नेमा उनले जोड दिए। गौतम रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न छन्।
यसैबीच, नेपाली कांग्रेसको वडा अधिवेशन हिजोदेखि सुरु भएको छ। शनिबार ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको थियो भने बाँकी जिल्लामा आज वडा अधिवेशन जारी छ।
नेपाली कांग्रेसको विधानअनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ।