५ आश्विन २०८३, सोमबार
Follow Us

इंग्ल्यान्ड र वेल्समा बलात्कार मुद्दाका लागि विशेष अदालत स्थापना गरिँदै

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०८३, सोमबार ०४:३६

इंग्ल्यान्ड र वेल्समा बलात्कार तथा अन्य यौन अपराधसम्बन्धी मुद्दा हेर्न विशेष अदालत कक्षहरू स्थापना गरिने भएको छ। प्रधानमन्त्रीले घोषणा गरेको योजनाअनुसार आगामी दुई वर्षभित्र प्रत्येक क्राउन कोर्टमा कम्तीमा एउटा अदालत कक्ष यस्ता मुद्दाका लागि विशेष रूपमा तयार गरिनेछ।

नयाँ व्यवस्थाअन्तर्गत पीडित तथा बाँचेकाहरूले अदालतको कार्यवाही दूरबाट हेर्न र छुट्टै कोठाबाट भिडियो लिंकमार्फत प्रमाण दिन सक्नेछन्। उनीहरूलाई प्रतिवादीसँग प्रत्यक्ष सम्पर्क नहोस् भनेर सम्भव भएसम्म छुट्टै प्रवेशद्वार र प्रतीक्षालय समेत उपलब्ध गराइनेछ।

अदालतका कर्मचारीलाई आघात-संवेदनशील (trauma-informed) तालिम दिइनेछ र प्रत्येक पीडितका लागि एक जना सम्पर्क व्यक्ति तोकिनेछ। यी सुधारका लागि न्याय मन्त्रालयको बजेटबाट करिब £२३ मिलियन खर्च हुने अपेक्षा गरिएको छ।

अर्को महिनादेखि बलात्कारसम्बन्धी मुद्दाहरूलाई ‘floating list’ मा राख्नुको सट्टा निश्चित सुनुवाइ मिति तोक्ने व्यवस्था पनि सुरु गरिने सरकारको भनाइ छ। प्रधानमन्त्री एन्डी बर्नहमले यसलाई न्याय प्रणालीमा पीडितलाई प्राथमिकतामा राख्ने प्रयासका रूपमा वर्णन गरेका छन्।

Rape Crisis England and Wales ले योजनालाई “महत्त्वपूर्ण कदम” भन्दै स्वागत गरेको छ। संस्थाकी प्रमुख कार्यकारी सिआरा बर्गम्यानले अदालतहरू पीडित तथा बाँचेकाहरूको आवश्यकताअनुसार सञ्चालन हुनु न्याय सुनिश्चित गर्न महत्त्वपूर्ण रहेको बताइन्।

यी सुधारहरू सांसद चार्लोट निकोल्सले आफ्नो बलात्कारको अनुभव सार्वजनिक गर्दै न्याय प्रणालीमा परिवर्तनको माग गरेपछि अघि बढाइएको सरकारले जनाएको छ। निकोल्सले मार्चमा संसदमा बोल्दै आफ्नो मुद्दा अदालतमा पुग्न १,००० दिनभन्दा बढी समय लागेको बताएकी थिइन्।

यसअघि सरकारले बलात्कारका पीडितलाई फौजदारी न्याय प्रक्रियाभरि विशेष कानुनी सल्लाह उपलब्ध गराउने योजना पनि घोषणा गरेको थियो।

धेरै पढिएको