२८ असार २०८२, शनिबार
Follow Us

गुल्मीबाट वर्षेनी तीन हजार बढी बसाइँसराइ गरेर बाहिरिंदै

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०८०, मंगलवार ०६:२३

गुल्मी । पहाडबाट तराई र दुर्गमबाट सुगमता खोज्दै मानिसहरु बसाइसराइँ गरेर हिंड्नाले गाउँबस्तीहरु रित्तिदै जान थालेका छन् । दुर्गम ठाउँमा शिक्षा, स्वास्थ्यसँगै पर्याप्त मात्रामा विकास र अरु अवसरको सम्भावना पनि कम हुन्छ ।

मानिहरु सुगमता र अवसरको खोजीमा बसाइँसराइ गर्ने क्रम तीब्रगतिमा बढेको छ । बसाइँसराइको असर गुल्मी जिल्लामा पनि पर्याप्त मात्रामा रहेको छ । धेरै जग्गा जमिन बाझिदै छ । गाउँका धेरै ठाउँका घरहरु ताल्चा मारेर बन्द अवस्थामा छन् ।

संघिएता कार्यन्वयनमा आएपछि सिंहदरवारको अधिकार र विकास गाउँमा आएको छ । तर मानिसहरु दिनानुदिन बसाइँसराइ गरेर शहरतिर गइरहेका छन् । जिल्लामा पनि यो क्रम दिनानुदिन बढ्दै गएको छ ।

जिल्ला समन्वय समिति गुल्मीले सर्वजनिक गरेको तथ्याङकअनुसार जिल्लामा गएको आर्थिक वर्ष २०७९-०८० मा करिव ३ हजार नागरिक बसाइँसराइ गरेर गएको पाइएको छ । जिल्लाबाट एक वर्षको अबधीमा २ हजार ८४३ जना बसाइँसराइ गरेर गएको तथ्याङक रहेको छ । यो तथ्याङक सरकारी निकायबाट आधिकारिक रुपमै बसाँइसराइ गर्नेहरु हुन् ।

तर त्यतिनै संख्यामा बसाइँसराइ गरेर गएपनि तथ्याङकमा छैनन् । जिल्लाबाट सबैभन्दा धेरै ८ सय ६९ जना मुसिकोट नगरपालिकाबाट बसाइँसराइ गरेर गएका छन् । त्यस्तै रेसुङ्गा नगरपालिकाबाट ३९७ जना, कालीगण्डकी गाउँपालिकाबाट १८६ जना, सत्यवती गाउँपालिकाबाट २४५ जना, चन्द्रकोट गाउँपालिकाबाट १५९ जना, रुरुक्षेत्र गाउँपालिकाबाट १३५ जना रहेका छन् ।

त्यस्तै छत्रकोट गाउँपालिकाबाट २५६ जना, गुल्मीदरबार गाउँपालिकाबाट १२८ जना, धुर्कोट गाउँपालिकाबाट १२१ जना, इस्मा गाउँपालिकाबाट ११५ जना, मालिका गाउँपालिकाबाट १०८ जना र मादाने गाउँपालिकाबाट १२४ जना बसाइँसराइ गरेर गएको तथ्याङक रहेको छ ।

गुल्मीका केहि स्थानीय तहले बसाइँसराइ रोक्नका लागि विभिन्न प्रयत्नहरु पनि गर्दै आएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा बिशेष प्याकेजका कार्यक्रमहरु समेत गर्दै आएको छ ।

नगरपालिकाले स्वास्थ्यतर्फ गुल्मी अस्पतालमा बिशेषज्ञ डक्टर राख्न प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । त्यस्तै शिक्षाको क्षेत्रमा एसईईमा उत्कृष्ट अंक ल्याएर जिल्लामै पढने विद्यार्थीलाई नगद रकम सहित सम्मान गर्दै आएको छ ।

पर्यटनको क्षेत्रमा ‘जाउ हिँड रेसुङ्गा’ अभियान नै सञ्चालन गरेको छ । नगरपालिकाले बाँझो जग्गामा खेती अभियान सुरु गरेको छ । युवाहरुलाई उद्योगी बन्नका लागि विभिन्न खाले तालिमहरु पनि नगरपालिकाले गर्दै आएको छ । यी कार्यक्रम मार्फत बढदो बसाइँसराइलाई रोक्नको लागि धेरै काम गर्ने अपेक्षा रहेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

उहाँले पछिल्लो समय रेसुङ्गा नगरपालिकाबाट बसाइँसराई गर्नेहरुको दर कम हुँदै गएको बताउनुभयो । बिशेष गरि मानिसहरु शिक्षा, स्वास्थ्यका कारणले बसाइँसराइ गर्ने गरेको पाइएकाले ती क्षेत्रमा नगरपालिकाको बिशेष प्याकेजका कार्यक्रमहरु सञ्चालनमा रहेको नगरप्रमुख पन्थीको भनाइ छ ।

जिल्लाका अन्य स्थानीय तहहरुले पनि केही हदसम्म बसाइँसराइ रोक्नका लागि प्रयासहरु गर्दै आएका छन् । तर गाउँमा मानिसहरु विभिन्न अवसरबाट वञ्चित भएको कारण देखाउदै गाउँ छोड्नेहरु बढदै गएका छन् ।

मानिसहरु सुख र सुबिधाको लागि शहर पस्ने गरेका गाउँ रित्तिदै जान थालेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताउनुभयो । उहाँले स्थानीय तहले हरेक नागरिक समेट्ने गरि कार्यक्रमहरु ल्याएर बसाइँसराइ रोक्नुपर्ने बताउनुभयो ।

गाउँमा अवसर पनि कम र शिक्षा स्वास्थ्य पनि पर्याप्त मात्रामा नभएकाले मानिसहरु असाइँसराइ गर्नेक्रम बढिरहेको खत्रीको भनाइ छ । मानिसहरु आजको आजै विकास खोजिरहेकाले स्थानीय तहले परिणममुखि कार्यक्रमहरु ल्याउनुपर्ने समन्वय प्रमुख खत्रीको जोड छ ।

गाउँका युवाहरुसँगै बसाइँसराइ गरेर जानेहरुका कारणले गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा गरेर खाने मान्छे छैनन् । जसका कारणले बिवाह, पूजा, कुनैपनि काम गर्दा समस्या छ । बिदेसिने क्रम र बसाइँसराइबाट गाउँघरहरुमा बृद्ध आमाबुवाहरु मात्रै छन् ।

गाउँमा बसेर गुजारा पनि चल्न समस्या हुँदै जानु र खेतिपाती लगाएको पनि बाँदरले सखाप पारिदिने गर्नाले र खानेपानीको समस्याका कारण बसाइसराइँ बढ्दै गएको छ । गाउँमा कुनै व्यवसाय गरेपनि लगानी अनुसार प्रतिफल नआउने गर्नाले पनि बसाइँसराइ बढ्दै गएको छ ।

कतिपय नागरिक बसाइसराइँ गर्नेहरु गाउँको जग्गा बिक्री नगरी घरमा ताल्चा लगाएर सुगम ठाउँमा जाने गरेका छन् । जिल्लाको अवस्थामा विशेष गरी दुई स्तरका मानिसहरू बढी बसाइसराइँ गरिरहेका छन् ।

आर्थिक रुपमा सम्पन्न मानिस थप सुविधाका लागि र बिपन्न व्यक्ति रोजीरोटीकै लागि बसाइसराइँ गर्छन् । कृषि क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले मानिसहरू बसाइसराइँ गर्ने गरेका छन् ।

धेरै पढिएको