१० आश्विन २०८२, शुक्रबार
Follow Us

राष्ट्रपति पुटिन नेपाल आउन इच्छुक, प्रधानमन्त्री ओलीलाई रूस भ्रमणको निम्तो

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०८२, मंगलवार १६:१३

काठमाडौं । चीनको तियानजिनमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा भएको भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुस भ्रमणको दुर्लभ निम्तो दिएका छन ।

प्रधानमन्त्री ओलीले नेपाल–रुस सम्बन्ध सुमधुर रहे पनि रुसबाट नेपालमा उच्चस्तरीय भ्रमण नभएको गुनासो गरेपछि पुटिनले खुशी व्यक्त गर्दै भने, ‘हामी तपाईंलाई जुनसुकै सुविधाजनक समयमा रूसमा स्वागत गर्न तयार छौँ ।’

पुटिनले १९५६ मा स्थापित नेपाल–रुस कूटनीतिक सम्बन्धको स्मरण गर्दै २०२६ मा ७० वर्ष पूरा हुने उल्लेख गरे । उनले दुई देशबीचको सम्बन्धलाई ऐतिहासिक सहकार्य र समस्या रहित भन्दै प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा नेपाल–रुसको अडान नजिक रहेको बताए ।

भेटमा ओलीले १९९९–२००० को आफ्नो रुस भ्रमण र त्यतिबेला धेरै नेपाली विद्यार्थीले रुसमा अध्ययन गर्ने अवसर पाएको अनुभव साझा गरे । यसबारेमा पुटिनले रुसी शिक्षाबाट फर्किएका नेपाली विद्यार्थीले दुई देशबीच पुलको भूमिका खेलेको बताए ।

शिक्षा, संस्कृति र मानवीय अन्तरक्रियामा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै पुटिनले नेपाली विद्यार्थीका लागि थप अवसर खोज्ने संकेत पनि गरे । साथै नेपाली संस्कृतिसँग घुलमिल हुन रुसी जनताको चासो रहेको भन्दै यसबारेमा सोच्न ओलीलाई अनुरोध समेत गरेका थिए ।

धेरै पढिएको