२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए उपाध्यक्ष पदमा शशी पौड्यालले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०८०, बुधबार १०:०८

लण्डन । गैर आवासीय नेपाली संघ एनआरएनएको केन्द्रीय उपाध्यक्ष पदमा वरिष्ठ समाजसेवी शशी पौड्यालले उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो प्रतिबद्धता सहित काठमाण्डौमा हुने एनआरएनएको ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएमा भईरहेको विभिन्न विकृति र बिसंगतीले संस्थागत रुपमा परेको हानीलाई कम गर्दै व्यक्तिगत तथा वैचारिक महत्वकांक्षा भन्दा माथि उठेर संस्थागत सुदृढीकरण ल्याउने अठोट सहित आफुले उम्मेदवारी घोषणा गरेको उनको भनाई छ ।

वंशजको नागरिकता, दोस्रो पुस्ता र महिलाहरुको संलग्नता र आर्थिक तथा प्रशासनिक पारदर्शितामा चिन्ता राख्ने पौड्यालले दिगो र सुशासित संस्थागत रुपान्तरण ल्याउने अठोट व्यक्त गरेका छन् । उनले जारी गरेको घोषणा पत्रमा गैर आवासीय नेपालीहरुले आर्जन गरेको सीप र पुँजीलाई भित्र्याउन नेपाल सरकारले एनआरएन मैत्री निती अबलम्बन गर्न जरुरी भएको बताए ।

को हुन् शशी पौड्याल ?

नेदर्ल्याण्ड तथा यूरोपमा एक बरिष्ठ समाजसेवी बाट परिचित शशी पौड्याल समाजसेवामा निरन्तर लाग्ने क्रममा नेपालीहरुको पहिलो संस्था नेपाल समाज नेदर्ल्याण्ड देखि लिएर गैर आवासीय नेपाली संघ नेदर्ल्याण्ड, नेपाल बिकास प्रतिष्ठान, नेपाली व्यबसायिक संघ नेदर्ल्याण्ड, नेपाल फण्ड फाउण्डेशन, नेपाल म्युजिक फाउण्डेशन र नेपाली जनसंपर्क समिती लगायतका संस्थाहरुको संस्थापक भै काम गरिसकेका छन् ।

गैरआवासीय नेपाली संघको अभियानमास्थापनाकाल देखि नै विविध भूमिकामा रहेर निरन्तर लागि पर्ने क्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद संस्थापक अध्यक्ष, केन्द्रीय सल्लाहकार साथै विभिन्न कार्यदलको प्रतिनिधित्व गरेका छन् । संस्थागत विस्तार, एनआरएनए भवन निर्माण, लाप्राक परियोजना, शंखमुल पार्क निर्माण सबैमा उनको प्रत्यक्ष र परोक्ष भूमिका रहेको छ । उनले नेपाली भाषा किताब, नेपाली खाना किताब र नेपाल परिचय जस्ता किताबहरु डच भाषामा पनि प्रकाशित गरेका छन् ।

नेपाल सरकारको तर्फबाट २००६ साल देखि नै पर्यटन दूतको जिम्मेवारी सम्हालेका उनले नेपालको पर्यटन तथा नेपाली कला तथा संस्कृतिको प्रवद्र्धन र विकासमा समेत थुप्रै काम गरेका छन् । दर्जनौ स्कुलहरुलाई भवन निर्माण, जग्गा खरिद र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुका साथै महिला तथा पिछडिएको समुदायहरुलाई खानेपानी, बायोग्यास तथा सीपमुलक तालिमहरुको समेत व्यवस्थापन गर्दै आईरहेका छन् ।

उनकै अगुवाईमा पोखराको पुम्दिभुम्दीमा आमाघर पाठशाला स्थापना भएको थियो । जहाँ २०० भन्दा बढी विपन्न बालबालिकाहरुले अध्ययन गर्दै आईरहेका छन् । पौड्याल नेपाली गाउँका साथीहरु नामक संस्थाको संस्थापक तथा सल्लाहकार पनि हुन् ।

शैक्षिक क्षेत्रमा नेदर्ल्याण्डको रडबाउड विश्व विद्यालयबाट वातावरण निती तथा व्यवस्थापन विज्ञानमा स्नातकोत्तर गरेका पौड्याल कानुन मन्त्रालय अन्तर्गत दोभाषेको पेशामा पनि छन् भने विभिन्न व्यवसायिक क्षेत्रमा लगानी रहेको छ ।

उपाध्यक्षमा उम्मेदवारी किन ?

नेदर्ल्याण्डका प्राय सबै संघसंस्थाहरुको संस्थापक भएर काम गरेता पनि उनी अहिले सम्म कुनै केन्द्रीय कार्यकारी पदमा रहेर काम गरेका छैनन् । विगतका समयमा संस्थामा देखा परेका विकृति र बिसंगतीले संस्थालाई धराशायी पारेको र संस्थामा व्यक्तिगत तथा वैचारिक महत्वकांक्षाको हावी बढ्दै गरेको हुँदा उनले कार्यकारी पदमै रहेर संस्थागत सुदृढीकरण ल्याउने अठोटका साथ उम्मेदवारी दिएको बताउँछन् । संस्थाको गरिमा बचाउन र पुनर्जन्म दिलाउन पनि आफ्नो भूमिका रहने भन्दै उनले वंशजको नागरिकता, दोस्रो पुस्ता र महिलाहरुको संलग्नता र आर्थिक तथा प्रशासनिक पारदर्शितामा चिन्ता राख्ने पौड्यालले दिगो र सुशासित संस्थागत रुपान्तरण ल्याउने अठोट गर्छन् । गैरआबासीय नेपालीहरुले मुलुकमा लगानी गर्न सहज होस र लगानी सुरक्षित रहोस भन्दै सबै मिलेर मुलुकको समृद्धिमा इट्टा थप गर्नु पर्ने बताउने पौड्यालले गैरआवासिय नेपालीहरुले आर्जन गरेको सीप र पुँजीलाई भित्र्याउन नेपाल सरकारले एनआरएन मैत्री निती अबलम्बन गर्न जरुरी भएको बताए ।

एनआरएनएको भविष्य

एनआरएनएले दुई दशक पार गरि सक्दा पनि संस्था परिपक्क नभएको, आर्थिक रुपमा आत्मनिर्भर हुन नसकेको हुँदा नेतृत्व चयनमा सुधार गर्नु पर्ने बिषयलाई मध्य नजर गर्दै संघको रुपान्तरणमा बिशेष ध्यान दिइे संघलाई दिगोपन दिलाउनु पर्ने र पारदर्शिता सहितको व्यवस्थापनको आवस्यकता रहेको उनले बताए । नेपाल सरकारसँग साझेदारिता गर्दै वृहत परियोजनाहरू नेपाल भित्र्याउन वैदेशिक निकायहरुसँग सहकार्य गर्नु पर्ने भन्दै उनले एनआरएनएलाई एउटा प्रतिष्ठित र विश्वासिलो संस्थाको रुपमा बिकसित गर्नु अहिलेको आवश्यकता भएको भन्दै आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन् ।