११ असार २०८१, सोमबार
Follow Us

एनआरएनएमा भावी नेतृत्वका लागि मतदान सुरु

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८०, बिहीबार ०३:४७

काठमाडौं ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि मतदान सुरु भएको छ । मतदान गएराति १२ बजेबाट सुरु भएको निर्वाचन समितिका सदस्य तथा सूचना अधिकृत चिरञ्जीवी ढकालले जानकारी दिए । यो मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एक जनालाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

नेपालमा रहेका एनआरएनए प्रतिनिधिहरुले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी ब्यवस्था मिलाईएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन ।

निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समयसिमा तोकिएको छ । जारी महाधिवेसनमा ४ हजार २ सय २७ प्रतिनिधिहरुले मतदान गर्न पाउने छन, जसमध्ये झन्डै ९ सय प्रतिनिधि भने नेपाल आएकाले उनीहरुले यतैबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

एनआरएनएको जारी ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएमा सो ७४ पदका लागि संसारभरवाट एक सय २० जनाले उम्मेदवारी दिएका छन । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजना बीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाईएको छ ।

अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला प्रत्यासी रविना थापाले आफनो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन ।