१९ असार २०८१, मंगलवार
Follow Us

एनआरएनए निर्वाचनमा महेशकुमार श्रेष्ठ किन तेस्रो भए ? (समाचार टिप्पणी)

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०८०, बुधबार १५:५१

लन्डन । अति सरल, भलाद्मी कसैको आँखाको कसिङर बन्न नचाहने, मिलनसार र जापानमा स्थापित व्यवसायी महेशकुमार श्रेष्ठलाई नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा आधिकारिक अध्यक्षको उम्मेदवार बनाएको थियो ।

कयौंलाई महेश श्रेष्ठ कुनै पनि हालतमा निर्वाचन हार्दैन भन्ने लाग्थ्यो । अहिले कांग्रेसको आधिकारिक उम्मेदवारको पराजय भन्दा बढी पीडा उनी कसरी तेस्रो भए भन्ने चर्चा कांग्रेसबृतमा छ । त्यही पीडा सहन नसकेर माओवादीको समर्थनमा उठेका अर्का अध्यक्षका प्रत्यासी आरके शर्मालाई उचालेर संस्था विभाजनमा उन्मुख छन् नेपाली कांग्रेसका नेताहरु ।

चुनाव नै जित्ने अपेक्षा गरिएको उम्मेदवार तेस्रो स्थानमा आउन बिभिन्न आशंका उत्पन्न हुनु स्वभाविक हो । सन् २०१७ देखि मात्र गैरआवासीय नेपाली संघको केन्द्रीय समितिमा प्रवेश गरेका श्रेष्ठ संस्थामा कनिष्ट उपाध्यक्ष मध्ये एक थिए ।

मनोनित सदस्यको रुपमा संघको केन्द्रीय सदस्यको प्रवेशसमेत उनको वैधानिक थिएन् । उनको भद्र स्वभाव र संस्थामा चाहिने व्यक्तिको रुपमा सर्वस्वीकार्य भएका थिए । संघको ९ औं महाधिवेशनमा उनले संघको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तत्कालिन अध्यक्षहरुका प्रत्यासी कुमार पन्त र कुल आचार्य दुवैको प्यानलमा नाम राख्न सफल भएका उनले भारी मतान्तरले कोषाध्यक्ष जितेका थिए ।

आफूलाई साझा व्यक्तिको चिनाउने र सबैको बन्छु भन्ने उनको नीतिले विस्तारै कमजोर बन्दै गएका थिए । उनी सबैका साझा थिए र तर सबैका बन्न सकेका थिएनन् । उनी ढुलमुले नीतिका माहिर खेलाडी थिए ।

बहुचर्चित १० औं महाधिवेशन अर्थात् संस्थामा तीन अध्यक्षको बिजारोपण गर्ने महाधिवेशनमा समेत उनको भूमिका स्पष्ट थिएन । एनआरएनए निर्वाचनमा जानकारहरु भन्छन्, उनी रातै भरी डा. बद्री केसीको समूहमा बैठक बस्थे र विहान कुल आचार्यको समूहमा कांग्रेस एक हुनुपर्छ भन्दै वकालत गर्थे ।

संघको दशैं महाधिवेशनमा उनले संघको आधिकारी निर्वाचन प्रकृयालाई चुनौती दिएर उम्मेदवारी दर्ता नै नगरेपछि संघको अभियानमा उनको भविष्य समाप्त भएको आंकलन गरिएको थियो, त्यो आंकलन दुई वर्ष नपुग्दै सावित हुन पुग्यो ।

१० औं महाधिवेशनमा ३ जना अध्यक्ष मानेर गएपछि ११ औं महाधिवेशनमा आफ्नो पालो आउने भन्दै उनले ३ अध्यक्ष बनाउने सुत्राधारको रुपमा उभिएको आरोप डा. बद्री केसी समूहले वेलाबेलामा बताउँदै आएको थियो ।

संघको १० औं महाधिवेसनदेखि राजनीतिक रुपमा ध्रुवीकरण भएको संस्थामा महेश श्रेष्ठलाई नेपाली कांग्रेसले बोकेपछि उनी उम्मेदवार भएका थिए । तर कांग्रेसले उनलाई चुनाव लड्ने अनुमति दिए पनि अन्य उम्मेदवार छान्नेतिर ध्यान दिएन् । संघका वर्तमान उपाध्यक्ष डा. केशव पौडेलले अध्यक्षमा उम्मेदवारी दिने आसय व्यक्त गरेपछि श्रेष्ठले आफ्नो अध्यक्षको टिकट खोसिने डरले अमेरिकन एनआरएनए समूहसँग अस्वभाविक सम्झौता गरेपछि उनको पराजयको बाटो खुलेको थियो ।

संस्थाका बरिष्ठ उपाध्यक्ष तथा पूर्वअध्यक्ष जीवा लामिछाने निकट डा. हेमराज शर्मासँग कुनै छलफल नै नगरी १२ औं महाधिवेसनमा डा. पौडेललाई अध्यक्षमा सहयोग गर्ने र एनआरएनए अमेरिकामा विवादित निवर्तमान अध्यक्ष बुद्धि सुवेदीलाई महासचिव पदमा उम्मेदवार बनाउने सम्झौता गरेपछि उनी कमजोर हुदै गए ।

ती दुई निर्णयले श्रेष्ठबिरुद्ध आफू निकटवर्तीहरु र संघका महासचिव गौरीराज जोशीसहित केही अमेरिकन एनआरएनसमेत टाढिए । उनले चुनाव जित्ने भरोसा र आधार भनेकै नेपाली कांग्रेस पार्टी र पूर्वअध्यक्ष जीवा लामिछानेको थियो । उनले चुनाव जित्न महाधिवेशन प्रतिनिधि, राष्ट्रिय समिति र संस्थाका पदाधिकारी भन्दा राजनीतिक दल र नेताहरुको बढी भरोसा गर्थे ।

श्रेष्ठ निकटवर्ती मध्यका एक संघका प्रभावशाली मध्यका एक डा.शर्मालाई संस्थाका बरिष्ठ उपाध्यक्ष हुन् तर श्रेष्ठले वरिर्याताक्रमको समेत ख्याल नगरी डा. शर्मा बिरुद्ध उम्मेदवारी दिने निर्णय गरेपछि डा. शर्मा बिच्किएर डा. केसीको पक्षमा उभिएका थिए ।

नेपाली कांग्रेस समर्थकहरुलाई एउटै स्थानमा उभाउने सफल हुने श्रेष्ठको विश्वास रहे पनि उनले बनाएको प्यानल आत्मघाती सावित भयो । श्रेष्ठले बामपन्थी एकै ठाउँमा उभिदा आफुले चुनाव हार्ने आकलनसहित गत वर्षदखि नै बिभिन्न माध्यबाट आरके शर्मालाई उम्मेदवारको रुपमा उभ्याउन भूमिका निर्वाह गरेका थिए । आरके शर्मा र डा. बद्री केसीबीच चुनाव हुँदा आफु सजिलै जित्ने अपेक्षासहित उनले आरके शर्माको उम्मेदवारीलाई स्वभाविक रुपमा लिएका थिए ।

उनले उम्मेदवारी दिने बेलासम्म बनाएको प्यानलमा कांग्रेस रोजे तर एनआरएन, समावेशसी र अन्य दल रोजेनन् । उनीले निर्वाचनको दौरानमा नेपाली कांग्रेसका अधिकांस केन्द्रीय नेताहरुलाई प्रयोग गरेका थिए । नेताहरु र महाधिवेशन प्रतिनिधिहरुलाई फोनमा जोडेर भोट दिन दवाव दिन्थे तर वर्तमान डायस्फोरामा राजनीतिक दलका नेताहरु अलोकप्रिय छन भन्ने उनले ह्याउ पाएनन् ।

उनको प्यानलमा करिब १ दर्जन बाग्लुङ्गे र अधिकांश बाहुनहरु थिए । प्यानलमा न दलीय सन्तुलन थियो न समावेशी ।

पुरै एक पक्षीय पार्टीको गुट जस्तो प्यानल बोक्न उनलाई डा. केशव पौडेल, नारायण आचार्य, यादव पण्डित र कुल आचार्य, गंगाधार गौतमहरुले बाध्य पारेपछि एनआरएन अभियानमा उज्जवल ताराको रुपमा हेरिएका श्रेष्ठ निर्वाचनमा पछारिए । उनीहरुले श्रेष्ठको मात्र होइन् नेपाली कांग्रेस पार्टीको समेत एनआरएनभित्र भविष्य समाप्त पारिदिए ।

श्रेष्ठलाई समावेशी, सर्वदलिय र सर्वपक्षीय प्यानल बनाउन नदिएर देउवा र कोइराला (पूर्व छत्तिसे र चौरहत्तरे समूह) लाई समेटेर मात्र प्यानल बनाउन दवाव थियो । नेपाली कांग्रेस समर्थक महाधिवेशन प्रतिनिधिहरु श्रेष्ठ लगायत डा. बद्री केसी र आरके शर्माको प्यानलमा बाँडिएका थिए ।

श्रेष्ठले आफूलाई अध्यक्षमा सहयोग गर्ने अपेक्षा गरेका पूर्वअध्यक्ष कुल आचार्य र डा. केशव पौडेलको समेत सहयोग नपाएको तथ्यांकले देखाउँछ । श्रेष्ठले मध्यपुर्व, अमेरिका र युरोपबाट प्राप्त मतको तथ्यांकले अधिकाश स्थानमा आचार्य र पौडेलले धोका दिएको सिद्ध गर्छ । उनीहरुले महासचिवमा बुद्धि सुवेदी र कोषाध्यक्ष ठाकुर गैरेलाई मत मागेका थिए ।

आचार्यले प्रधानमन्त्री प्रचण्डलाई आरके शर्मालाई चुनावमा जिताउने बाचा गरेको चर्चा चुनाव अघि नै उनी निकटवर्तीहरुले बताउदथे । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्डले आचार्यलाई लण्डनमा फोन गरेर सहयोगको लागि अनुरोध गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आरके शर्मा पक्षमा आचार्यलाई उभाउन पटक पटक छुट्टा छुट्टै बैठक गरेका थिए । आचार्य दोहोरो दवावमा थिए । उनले कांग्रेसलाई महेश श्रेष्ठको पक्षमा उभिएको देखाएर शर्मालाई आन्तरिक सहयोग गरेका थिए ।

श्रेष्ठले आफुले चुनाव जित्ने मुख्य आधार स्तम्बको रुपमा लिएका पूर्वअध्यक्ष जीवा लामिछानेलाई समेत चेपुवामा पारेपछि उनी अपेक्षित रुपमा श्रेष्ठको पक्षमा सकृय हुने अवस्था बन्न सकेन् । गैरआवासीय नेपाली संघको संस्थापक मध्यका एक लामिछाने संघभित्र निकै प्रभावशाली र लोकप्रीय पात्र हुन् ।

श्रेष्ठ, डा. बद्री केसी, डा. हेमराज शर्मालगायतको ठूलो प्रभावसाली समूह सबै लामिछाने समर्थक अनुयायी हुन् । श्रेष्ठको उम्मेदवारीले लामिछानेको पक्षमा खम्बाको रुप उभिएका गैरआवासीय नेपालीभित्र नजोडिने गरी फुट्को सम्भवना थियो तर लामिछानेले सर्प पनि मर्ने लड्ठी पनि नभाचिने नीति लिए ।

श्रेष्ठ पक्षको व्यक्तिगत रुपमा साहनुभूति भए पनि पुरै आफ्नो समूहलाई उनको पक्षमा उभाएनन् । लामिछानेबाहेक उनी निकटवर्तीहरु अहिलेनै श्रेष्ठलाई अध्यक्ष मान्न तयार नभएकै कारणले लामिछानेले मध्यमार्गीबाटो लिए । संघको १० औं महाधिवेशनदेखि संघको अभियानदेखि अल्ली टाढा बस्दै आएका लामिछानेले गत साता सम्पन्न निर्वाचनमा आफुलाई विवाद रहित बनाए । संस्थामा २६ जना निर्वाचित पदाधिकारी मध्ये अधिकांश लामिछाने निकटवर्तीहरुले मात्र चुनाव जितेका छन् ।

श्रेष्ठको थप परायजको कारण आफ्नै कर्मभूमि देश जापान समेत मुख्य कारण बन्न पुग्यो । श्रेष्ठबिरुद्धबाट जापानबाट ७ जनाले उम्मेदवारी घोषणा गरेका थिए तर उनले ती उम्मेदवारीहरुलाई व्यवस्थापन भन्दा लत्ताएर अघि बढ्न खोजे । जापानमा युवाहरुबीच लोकप्रिय सुदन थापाबाहेक अरु उम्मेदवारलाई सम्झाउने प्रयास गरेपछि जापानकै प्रतिनिधिहरु चिडिएका थिए । श्रेष्ठले जापानका एक धनाड्य रोविन शेरचनलाई आफ्नो प्यानलमा किन लिए भन्ने विषय अहिलेसम्म पुष्टि हुन सकेको छैन् ।

शेरचनभन्दा संघको अभियानमा ठूलो योगदान गरेका डा. हेमराज शर्मालाई प्यानलमा नाम राखेर गएको भए श्रेष्ठ मतान्तर कम हुन् सक्थ्यो र उनी दोस्रो बन्न सक्थे । तर उनले संस्थाको योगदान होइन आर्थिक योगदानलाई पहिलो प्राथामिकतामा राखे । उनले एशिया प्यासिफक क्षेत्रमा जम्मा २३० मत प्राप्त गरेका छन् भने आरके शर्माको निकै कमजोर मानिएको सो क्षेत्रमा शर्माले २२६ मत ल्याएका छन् । शर्माले प्राप्त गरेको मत संख्याले पनि श्रेष्ठ जापानमै अलोकप्रिय रहेको देखाउँछ ।