१४ असार २०८१, बिहीबार
Follow Us

पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय सकरात्मक: एनआरएनए सचिव, केसी

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०८०, शुक्रबार १४:४३

लण्डन । नेपाल सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरे सँगै पोर्चुगलमा रहेका नेपालीहरुमाझ उल्लास छाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णय पछि पोर्चुगलस्थित गैरआवासीय नेपाली संघका सचिव भिम कमल केसीले सो निर्णयको स्वागत गरेका छन् ।

‘दुतावास नहुँदा यहाका नेपालीहरु धेरै समस्यामा परेको केसीले बताए । पासपोर्ट नविकरण देखि विभिन्न सरकारी कागजपत्र अब सिधै पोर्चुगलबाट बनाउन सकिने र यसअघि यी कामहरु फ्रान्सस्थित दूतावासबाट बनाउनु पर्ने अवस्था थियो अब यसको अन्त्य भएकोछ’ केसीले भने ।

उनले पोर्चुगल र नेपालबीचको कुटनैतिक सम्बन्ध, पर्यटन प्रवद्र्धन देखि आर्थिक सामाजिक एवं व्यापारिक दृष्टिकोणबाट पनि सम्बन्ध प्रगाढ हुने बताए।

राजदूत सिफरिश भएका सनिल नेपाल कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा सक्रिय थिए।सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।

पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन । सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो । हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ ।