– चिरन्जीवी ढकाल ।
२००३ सालको अगस्ट महिनामा लन्डनस्थित नेपाली राजदूतावासमा रुसमा बस्ने साथीहरुले एउटा संदेशसहित प्याकेज पठाउनु भएको छ र युकेमा बस्ने नेपाली समूदायका सदस्यहरुको सहयोगको अपेक्षा गर्नुभएको छ भन्ने हामीले खबर पायौं। म त्यसबेला बेलायतस्थित पुरानो नेपाली संस्था ‘यति नेपाली एशोसिएसन’ को महासचिव थिएँ। त्यो नाताले पनि हामीलाई खबर आएको थियो । उक्त संस्था सन् १९६० मा दर्ता भएको हो ।
बेलायतका लागि नेपाली राजदूत प्रबल शमसेर जबरा हुनुहुन्थ्यो । त्यसपछि म नै दूतावास गएर त्यो प्याकेज बुझेर ल्याएँ । यति नेपाली एशोसिएसन त्यतिबेला फाउन्डेसनसहितको थियो । हामी संयुक्तरुपमा बैठक बसेर रुसबाट डा उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदास लगायतका साथीहरुले अब नेपालाको समृद्धि, सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका साथै विकासका लागि विदेशमा बसेका नेपालीहरुको आवश्यकताको अनुभूति गरेर सांगठनिकरुपमा नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भनेर परिकल्पना गरेर नेपालीहरु जुटाउने क्रममा युरोपको सबैभन्दा ठूलो नेपाली समुदाय भएको नाताले सहयोगका लागि नेपाली राजदूतावासलाई पत्र पठाउनु भएको रहेछ ।
उहाँहरु छिटै लन्डन आउंदै हुनु हुन्छ भन्ने पनि पत्रमा उल्लेख थियो। त्यसपछि हामीले बैठक बसेर छलफल ग-यौं। रुसका साथीहरुले निकै राम्रो काम सुरु गर्नुभएको रहेछ, उहाँहरुलाई सक्दो सहयोग गरौँ र लन्डनमा स्वागत गरौं भन्ने निर्णय ग-यौं। त्यसै अनुसार २००३ अगस्टको ३० तारिखमा लन्डनको एउटा नेपाली रेस्टुराँमा सामाजिक प्रतिष्ठित व्यक्तित्वहरु डा. राघव धिताल, प्रा सूर्य सुवेदी, महन्थ श्रेष्ठ, बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्र, ध्रुव केसी, बालमुकुन्द जोशी लगायत यति कार्यसमितिका साथीहरु भेला भयौं। भेलामा भाग लिन रुसबाहेक अस्ट्रेलियाबाट दीपक खड्का, जर्मनीबाट राम प्रताप थापा, अमेरिकाबाट कुञ्जर शर्मा लगायतका प्रतिष्ठित व्यक्तिहरु आउनु भएको थियो।
त्यो बैठकमा हामीले अब नेपालको विकासका लागि केही गर्नुपर्छ भन्यौं । डायस्पोरामा नेपालीको संख्या बढ्दै गयो, अब कसरी संगठितरुपमा अगाडि जाने भनेर एउटा निर्णय गरियो । त्यतिबेला नेपालमा माओवादी द्वन्द्व एकदमै बढेको थियो । जसका कारण नेपालमा गएर सम्मेलन गर्न सकिन्छ कि सकिंदैन भन्ने द्विविधा पनि थियो । नेपालमा हाम्रा बाबुआमा बसी रहनु भएको छ भने हामी मात्रै आफ्नो मातृभूमि जान किन डराउने भन्दै सन् २००३ को अक्टोबरमा विश्वसम्मेलन गर्ने निर्णय गरियो। आयोजक समिति बनाउँदा आयोजक समितिमा पनि म बसें ।
पहिलो विश्वसम्मेलनमा हामी ३४ राष्ट्रका व्यक्तिहरु काठमाडौंमा जम्मा भयौं । नेपालमा डा उपेन्द्र महतोको अध्यक्षतामा पहिलो कार्यसमिति गठन हुँदा संस्थापक सचिवको रुपमा काम गर्ने जिम्मा मैले पाएँ। त्यसैले एनआरएनएको गर्भाधान रुसमा भयो, बेलायतमा जन्म भयो र नेपालमा गएर त्यसको न्वारान (नामाकरण) गरियो भन्ने भनाइ प्रचलनमा आएको हो ।
सन् २०१० सम्म सांगठनिक रुप दिनमात्रै एनआरएनए संस्था व्यस्त बन्यो । हामीलाई एउटा माहोलको जरुरी थियो भने प्रवासमा रहेका नेपालीहरुलाई संगठित गर्नुपर्ने अवस्था थियो । संगठन ठूलो हुँदै गर्दा यसले राम्रो र नराम्रो दुवै पक्ष समेट्दो रहेछ । ६०–६५ देशमा संगठन बन्दै गएपछि त्यसभित्र केही न केही नकारात्मक पक्षहरुले पनि प्रवेश गर्दो रहेछ । २०१३ पछि संगठनले अर्कै मोड लिँदै गयो । पछिल्लो ४–५ वर्षको घटनाक्रमले संगठनको सुरुआत गर्दा हामीले गरेको परिकल्पना अनुसारको अवस्था नबनेको मैले अनुभूति गरेको छु ।
संघका पछिल्ला चुनावहरुमा नेपाली राजनीति र आर्थिक चलखेलको धेरै नै प्रभाव परेको देखियो । हामी देश छोडेर विदेशमा बसेर नेपालको आर्थिक, सामाजिक विकास र सांस्कृतिक रुपान्तरण गर्न सहयोगको लागि संगठितरुपमा अगाडि बढ्नु पर्ने संस्थामा नेपाली राजनीतिक पार्टीहरुको केही न केही आकांक्षा, हाम्रो संगठनप्रति उहाँहरुको लगाव र उहाँहरुको केही मोह र केही पार्टीगत स्वार्थको रुचि बढ्नाले संस्थालाई धेरै नै असर गरेको रुपमा पनि बुझ्न सकिन्छ ।
गएको १० औं विश्वसम्मेलन समयमा आयोजना गर्न सकिएन । अब यो स्थितिलाई बदल्नका लागि राजनीतिक दलहरुका भ्रातृ संस्थामा रहेका साथीहरुले एनआरएनएमा आउँदा दलगत राजनीतिलाई बाहिरै राखिदिए हुन्थ्यो । यसो गरियो भने स्वच्छ र निष्पक्ष एनआरएनए बन्छ । राजनीतिक आस्था भएका साथीहरुले पनि पार्टीका नेताहरुले हस्तक्षेप गर्न खोज्दा उहाँहरुले नै गर्न नदिने वातावरण बनाउनु पर्छ । तर अहिले कस्तो छ भने विदेशमा बस्ने साथीहरु नेपाल आउनासाथ नेताहरुका घर घरमा पुग्ने र उहाँहरुको सहयोगबाट संस्थामा पनि बलियो बन्छु भन्ने मानसिकता देखिन्छ । यो मानसिकता नत्याग्दासम्म सुधार गर्न गाह्रो नै देख्छु ।
एनआरएनए विशुद्ध सामाजिक संगठन भएकाले यसमा रहने साथीहरु नै चनाखो हुनुपर्छ । यसैगरी भोटिङको सवालमा पैसाको चलखेल भएका कुराहरु पनि सुनिएका छन् । त्यसले गर्दा हामीले राजनीतिक र आर्थिक हस्तक्षेपबाट बाहिर राख्न सक्यौं भने संस्था आफैमा राम्रो छ, यसलाई अझ राम्रो बनाउन सक्छौं ।
भावी सन्ततिका लागि एनआरएनए
एनआरएनए भावी सन्ततिका लागि निकै आवश्यक छ । अहिले भर्खरै गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आएको छ । यो अहिलेको ठूलो उपलव्धि हो भने वंशजको आधारमा प्राप्त नेपाली नागरिकतालाई निरन्तरता दिनु पर्छ भन्ने हाम्रो माग पनि छँदैछ । एनआरएनएमा दोस्रो पुस्तालाई पनि जोड्न आवश्यक छ । त्यही भएर हामीले विधानमा युवा उपाध्यक्ष, दोश्रो पुस्ताकालागी संयोजक जस्ता पदहरु पनि राखेका छौं । त्यसमा पनि हामीले दोस्रो पुस्तालाई समेट्नका लागि ३० वर्ष मुनिका भनेर पनि राखेका छौं । यति गरे पनि उनीहरुका लागि एनआरएनएले कार्यकम दिन नसकेको पनि पक्का हो । नागरिकताको कुराले अलिकति आकर्षण गरेको पनि देखिन्छ । उनीहरु हामी नेपालको नागरिक भन्न पाउने भयौं र नेपालसँग जोडिन पाउने भयौं भनेर खुसी छन् ।
अब हुँदै गरेको विश्वसम्मेलन र महाधिवेशनबाट नेतृत्वमा आउने साथीहरुले युवा लक्षित कार्यक्रमलाई बढी फोकस गर्नुपर्छ । विगतमा हामीले नागरिकता र लगानीको कुरा गरेका थियौं, अबको नेतृत्वले युवाहरुलाई लक्षित गरेर काम गर्नुपर्छ । अहिले नलेज बैंकको कुरा आइ रहेको छ र विश्व ज्ञान सम्मेलन पनि हुँदैछ । विश्व ज्ञान सम्मेलनमा प्रोफेसरहरु मात्र होइन, ४० वर्ष मुनिका युवाहरुलाई पनि अनुभव शेयर गर्न दिनुपर्छ । उनीहरुको आइडिया लिएर हामीले काम गर्न जरुरी छ ।
अन्त्यमा, एकजना संस्थापकको नाताले म एनआरएनएलाई एकताबद्ध बनाउन अपिल गर्न चाहन्छु। हाम्रो उद्देश्य एउटै हो। हामी विभाजित हुँदा मातृभूमि र डायस्पोरामा बस्ने नेपालीहरुलाई राम्रो गर्दैन । त्यसैले हामी सबै मिलेर एनआरएन भनेको एउटै संस्था हो भन्ने सन्देश दिनु पर्छ। हामी एक नहुँदासम्म युवा पुस्तालाई संस्थासंग जोड्न गाह्रो हुने भएकाले त्यतातर्फ पनि ध्यान दिन म नेतृत्ववर्गलाई आग्रह गर्दछु ।
(एनआरएनएका संस्थापक सचिव ढकाल बेलायतमा बसोबास गर्नु हुन्छ। )