५ कार्तिक २०८२, बुधबार
Follow Us

कार्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हलि पूजा

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०८२, बुधबार ०७:०२

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ ।

गोवर्द्धन पूजा
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ
नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात गराएका थिए । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरको भनाइ छ ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सा:ख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।

धेरै पढिएको