१२ श्रावण २०८१, शनिबार
Follow Us

अत्याधिक चिसोले भुकम्पपीडितको बिचल्ली

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०८०, शनिबार ०७:३५

काठमाडौं । अत्याधिक चिसोले जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको बिचल्ली भएको छ । भुकम्पपछि त्रिपालमुनी बस्दै आएका पीडितहरु सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा थप मारमा परेका हुन् ।

कर्णाली प्रदेश प्रहरीका अनुसार कात्तिक १८ यता त्रिपालम्नी बसिरहेका ३२ भूकम्पपीडितको मृत्यु भइसकेको छ । प्रहरीको तथ्यांक अनुसार शुक्रबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन् ।

कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।

भूकम्पले घर भत्काएपछि पीडितहरु बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार त्रिपालमुनि बसेका जाजरकोटको कुशे गाउँपालिकामा आठ, छेडागाड नगरपालिकामा ६, नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा चार–चार, बारेकोट गाउँपालिकामा तीन र भेरी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।

यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीनजना, बाफिकोट गाउँपालिका र सानीभेरी नगरपालिकामा एकएक जनाको चिसोले मृत्यु भएको हो । चिसोबाट चार बालबालिकाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।