२४ बैशाख २०८१, सोमबार
Follow Us

अनुभव नभए पनि मसँग ऊर्जा छ : रञ्जु दर्शना, विवेकशील पार्टीबाट कामनपाका मेयर उम्मेदवार

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार ०७:५३

२०५२ सालमा काठमाडौंमा जन्मेकी रञ्जु स्नातक तहमा अध्ययन गर्दैछिन् । तीन वर्षअघि विवेकशीलसँग जोडिएकी रञ्जु डा. गोविन्द केसीको समर्थनमा भएको आन्दोलनमा सक्रिय थिइन् । काठमाडौं महानगर मेयरमा उम्मेदवार घोषणा गरेकी रञ्जुसँग लोकराज अधिकारीले गरेको कुराकानी–

० पढ्ने बेलामा राजनीतिमा किन ?
– पढ्दै राजनीति गर्न, अर्को राजनीति गर्दै पढाइ सिक्दै ।

० किशोर अवस्थाको लहड भनेर बुझ्दा हुन्छ ?
– एउटा लहड पनि होला, म त्यसलाई अस्वीकार गर्दिन्, अर्को कुरा यो अहिले हामीलाई चाहिएको पनि छ । हाम्रो अहिले जुन अवस्था छ, त्यो कसैले डिर्जप गर्दैछ । यो भन्दा राम्रो वातावरण हामी खोज्छौं ।

० राजनीतिमा परिपक्व छैन भन्नेहरुलाई तपाईको जवाफ ?
– जोखिम्म नलिई कुनै कुरा हासिल गर्न सकिन्न । यो प्रश्न सोधिराख्दा मलाई पृथ्वीनारायण शाहको सम्झना भयो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण २१ वर्षको उमेरमा सुरु गर्नुभएको रहेछ । उहाँ र मेरो अवस्था मिल्दोजुल्दो छ जस्तो लाग्छ । मललालाई हामी आदर्शको रुपमा हेछौं, उनले दिएको भाषणमा हामी आँशु झार्दै ताली बजाउँछौं । तपाईं हामी चाहिँ त्यही उमेरको एक युवती काठमाडौंको मेयरमा उठ्दा प्रश्न उठाउने ?

० आकांक्षा राम्रो हो, तर रञ्जु महत्वकांक्षी भइन भन्नेलाई जवाफ के छ ?
– म मेरो काठमाडौंलाई सुन्दरमान्डु देख्न चाहन्छु । र, यो सुन्दर माण्डु हुनुपर्छ भन्ने मेरो महत्वकांक्षा नै हो । बुझ्नुपर्ने कुरा के हो भने रञ्जु एक्लै हिडिरहेकी छैन, रञ्जु आफ्नो टिमसँग हिडिरहेकी छे । त्यो टिम हो, जो यो काठमाडौंलाई सुन्दरमाण्डु चाहन्छ, त्यो टिमसँग विभिन्न क्षेत्रमा विज्ञता पनि छ । रञ्जुले ती विज्ञलाई साथ लिएरै अघि बढेकी छे ।

० सुन्दरमाण्डु बनाउने योजना के छ ?
– अस्तव्यस्त काठमाडौंलाई सुविधायुक्त बनाउने हो । ध्वाँधुलो, झन्झयुक्त प्रशासन, गरी खान खोज्नेलाई वातावरण छैन, काठमाडौं अहिले हिडू हिडू लाग्ने छैन । सम्पदाको संरक्षण भइरहेको छैन । यसलाई म अस्तव्यस्तता भन्छु । यो अस्तव्यस्तलाई सुधार गर्नु मेरो प्राथमिकता हो ।

० कार्यकर्ता नभएको पार्टीमा हुनुहुन्छ, कसरी जित्नुहुन्छ ?
– हो, हाम्रो कार्यकर्ता अरु राजनीतिक दलको जस्तो प्रशस्त छैनन् । हाम्रो जित्ने आधार भनेकै नयाँपन हो । यहाँ नयाँपन चाहिएको छ । गर्छु र गरेको छु भन्ने मान्छे चाहिएको छ । हामी त्यो हौं जस्तो लाग्छ । हामीले गर्न सक्ने एजेन्डा लिएर आएका छौं । हामी भाषण कम, काम बढी गर्छौ । विवेकशील पार्टीलाई जिताउने कार्यकर्ता भनेका काठमाडौं हामीलाई चाहन्छ भन्नेहरु नै हुन् ।

० २१ वर्षकी एउटी युवतीले काठमाडौंको मुहार फेर्छु भन्नुभएको छ । तपाईंलाई पत्याउलान ?
– युवा अघि आउँनुपर्छ भनिरहेका छन् । मलाई पत्याउनु भनेको युवालाई पत्याउनु हो । युवा एक्लै छैन, उसको टिम छ भनेर पत्याउने हो । म एक्लै छैन, म मेरो टिमसँग अगाडि बढिरहेको छु । टिम र परिवारको साथ पाइयो भने जस्तोसुकै काम गर्छ सकिन्छ ।

० अनुभवविनाको राजनीतिज्ञले मेयर पद जित्यो भने कसरी चल्छ ?
– अनुभव भनेको हामी अघि बढ्दै जाँदा लिने कुरा हो । म अनुभव लिने बाटोमा छु, तर अरु अनुभवी व्यक्तित्वसँगै हिड्छु । एकलकाँटे म होइन, विज्ञहरुलाई म अनुरोध गर्छु । अनुभव नभए पनि मसँग ऊर्जा छ ।

० हरेक काममा अरुलाई सोध्नुपर्ने नेतृत्वले के दिनसक्छ ?
– सरसल्लाह र सहयोग लिन किन हिचकिचाउने ? विगतमा हामीले गरेको गल्ती पनि यही हो । हामी विज्ञहरुसँग कहिले पनि सल्लाह लिँदैनौं । मेरो काम भनेको समन्वय गरेर अघि बढ्ने र चेक एन्ड ब्लालेन्च हो ।

० दुई चार दिन चर्चामा आउन उम्मेदवारी घोषणा गरेको हो कि ?
– त्यो पक्कै पनि होइन, मलाई नेपालमै बस्नुछ, त्यही हिसाबले पे्ररित छु । दुई चार दिन चर्चा परिचर्चाका लागि म आएको होइन, जित्नका लागि आएकी हुँ, हाम्रो टिम जित्नका लागि अघि बढेको हो । हामीलाई अवसर दिनुहोस् भनेर नागरिकको घरदैलोमा पुगेका छौं । देशमा ८० प्रतिशत युवा छन्, ती युवाको भ्वाइस बोकेर हिडेका छौं ।

० पराजित भएपछि आत्मग्लानी हुँदैन ?
– पक्कै आतमग्लानी हुँदैन, किनभने हिम्मत गरेर देश र समाजका लागि केही गर्छु भनेर एक स्टेप अघि बढेकी हुँ । मैले आफूभित्रै जितेसकेको अनुभव गरेकी छु । देश बनाउने बाटामा अप्ठ्यारा र बाधाहरु आइरहन्छन् । हाम्रो टिम जित्नैभनेर अघि बढेको छ । तर हार्ने चान्स पनि त्यत्तिकै छ, तर पराजित भएँ भन्दैमा मेरो संसार डुब्छ भन्ने आत्माग्लानी मकहाँ रत्तिभर रहँदैन ।

० तपाईको जमानत जोगिन्छ ?
– हामी जित्छौं भन्ने कुरामा ढुक्क छौं ।
– जनता रेडियोबाट