१२ श्रावण २०८१, शनिबार
Follow Us

सूचना र सञ्चार प्रविधि उपयोग क्षमता अभिवृद्धिकाे समीक्षा

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८०, शुक्रबार १४:०१

काठमाडौं । एसओएसनअन्तर्गतको एसओएस बालग्राम नेपालको सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि उपयोग क्षमता अभिवृद्धिको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक विद्यालयमा १८ महिनासम्म सञ्चालित परियोजनाले विद्यार्थीको सिकाइमा पारेको प्रभावबारे समीक्षात्मक कार्यक्रम गरिएको एसोएस बालग्राम नेपाल परियोजनाकी संयोजक रोशनी सिलवालले जानकारी दिइन् । उनले भनिन्, ‘कार्यक्रममा १८ महिनासम्म सञ्चालित परियोजनाले विद्यार्थीको सिकाइमा पारेको प्रभाव, विद्यार्थीमा सिकाइका लागि भएको रुचि र परियोजनाका क्रममा देखिएका समस्या, समस्या समाधानका लागि चाल्नुपर्ने कदम तथा शिक्षामा स्थानीय सरकारको भूमिकाबारे छलफल भएको छ ।’

लर्निङ एन्ड सेयरिङ मिटिङ नामक सो कार्यक्रमलाई सम्बोधन गर्दै परियोजनाकी संयोजक सिलवालले कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा प्रविधिबाट अध्ययन गराउँदा अपनाउनु पर्ने सुरक्षा, प्रविधिको ज्ञान र सिप तथा सिकाइमा वृद्धि भएको बताइन् । परियोजना लागू भएका तीन विद्यालयमा विद्यार्थीलाई २० वटा ल्यापटप, ट्याब्लेटस १ हजार १० वटा, स्मार्ट बोर्ड तीनवटा र १८ महिनाको इन्टरनेट उपलब्ध गराएको उनले बताइन् ।

१८ महिनासम्म सञ्चालित परियोजना पनौतीको शान्ति निकेतन मावि, बनेपाको गणेश भारती विद्यालय र बालग्राम श्रीखण्डपुरमा लागू भएको छ । शुक्रबार बनेपामा भएको कार्यक्रममा परियोजना कार्यान्वयन भएका विद्यालयका प्रधानाध्यापक तथा फोकल पर्सन, शिक्षक तथा नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधिको पनि सहभागिता थियो ।