२० बैशाख २०८१, बिहीबार
Follow Us

भूकम्प पीडितको सहयोगार्थ लण्डनमा गजल साँझ हुँदै

नेपालब्रिटेन डट कम्
१५ पुष २०८०, आईतवार १८:५०

लन्डन । भूकम्प प्रभावित पश्चिम नेपालका महिला बालबालिकाहरुका लागि न्यानो कपडा सहयोगार्थ लन्डनमा एक च्यारिटी गजल सांझ हुने भएको छ ।

रुकुम तथा जाजरकोटका भूकम्प पीडित महिला बालबालिकाका लागि न्यानो कपडा, पछ्यौरा, स्यानिटेरी प्याड, चप्पल र दूध सहयोगार्थ गजल सांझ हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला फोरमको आयोजना एवं युरोप महिला संयोजक प्रसुना कंडलको संयोजनमा उक्त सांझ गर्ने तयारी भएको छ ।

यही ९ जनवरी मंगलबार सांझ ब्लु रुम स्पोर्टस् हल, ह्यारोमा हुने गजल सांझमा नेपाली गायनमा पृथक पहिचान बनाएका चर्चित गजल गायक राज सिग्देल र बेलायतस्थित दुई गजलकार सन्जिता देउजा एवं नारायण गाउंलेका गजल सुन्न पाइनेछ । कार्यक्रमलाई एनआरएनए यूकेले पनि साथ दिएको छ ।

‘प्राकृतिक विपत्तिको मार खेपिरहेका कर्णालीवासीलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेका छौं । मनकारी तपाईं सबै बेलायतवासी कार्यक्रममा आएर सहयोग गरिदिनु हुने विश्वास लिएका छौं’, संयोजक प्रसुनाले भनिन् ।

कार्यक्रमले प्रवासमा नेपाली गजलको प्रवर्धनमा पनि सघाउने आशा व्यक्त गरिन् । उनले बीबीसीको १०० प्रभावशाली महिला लिष्टमा परेकी सपना रोका मगरलाई सम्मान पनि गरिने बताइन् । शान्त वातावरणमा करिब दुई घण्टा गजल सुनाइने आयोजकले जनाएका छन् ।

संयोजक कंडेलले एनआरएनएका सबै पक्षलाई एकसाथ राखेर लाने र यसले हाल देखिएको विवाद केही भएपनि मत्थर पार्न सहयोग पुग्ने पनि उल्लेख गरिन् ।

पत्रकार सम्मेलनमा नेपालका चर्चित गजल गायक राज सिग्देलले आफूले सांच्चिकै कलात्मक कार्यक्रम गर्न सकिन्छ कि भन्ने विश्वास लिएको बताए । बेलायतमा नेपाली कलाकार आएर ६ महिना बस्ने, जस्तो ठाउं, जति जना भएपनि गायनमा तमासा देखाउने गरेको भन्दै सिग्देलले त्यस्ता सतही कार्यक्रमको सट्टा कलात्मक कार्यक्रम गरिने बताए । उनले कार्यक्रममा आइदिन सबैमा अनुरोध पनि गरे ।

गजलकार तथा लेखक नारायण गाउंलेले च्यारिटीका लागि आयोजित सांझमा आफूले गजल सुनाउन पाउंदा खुशी लागेको बताए । ‘एक साँझ सँगै बसेर गजललाई गजलजस्तै सुनौँ ! तबला, हार्मोनियम, गीतार, सङ्गीत, गजल, गायक र श्रोता सबै मिसिएको त्यो ‘लाइभ’ साँझ पक्कै मधुर बन्नेछ’- गाउंलेले भने ।

एनआरएनए यूके महासचिव गोविन्द खरेलले सञ्चालन गरेको उक्त प्रेस मिटमा एनआरएनए केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएमा सबै भन्दा सक्रिय समिति महिला समिति रहेको भन्दै कार्यक्रमको सफलताको कामना गरे।

एनआरएनएकी अन्तरराष्ट्रिय महिला संयोजक अनुजा प्रधानले गजल कार्यक्रम राम्रो उद्देश्यका लागि भइरहेको भन्दै न्यानो कपडाका लागि रु १० लाख जति उठाइसकेको बताइन्। उनले कार्यक्रम सफल बनाउन सबैलाई अनुरोध पनि गरिन् ।

एनआरएनए युरोप संयोजक डा. चिरन्जीवी खड्काले कार्यक्रम सफलताको कामना गर्दै एनआरएनए केन्द्रिय बजेटबाट समेत सहयोगका लागि छलफल भइरहेको जनाए ।

एनआरएनए यूकेकी महिला संयोजक रोजिना गुरुङले सबैलाई कार्यक्रममा सहभागिता र सहयोगका लागि अनुरोध गरिन्।

पत्रकार सम्मेलनमा युरोप उपसंयोजक महेश अधिकारी, युरोप सचिव भुवन अर्यालसहित पत्रकारहरु सहभागी थिए ।

केही साताअघि पश्चिम नेपालमा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण विशेष गरि रुकुम र जाजरकोटवासी यो जाडोमा संकटबीच बांचिरहेका छन् । उनीहरु खुल्ला आकाशमुनी बस्न वाध्य छन् भने पर्याप्त राहत नपुग्दा सुत्केरी महिलाको ज्यान गएको खबर आइरहेका छन् ।