१९ बैशाख २०८१, बुधबार
Follow Us

कोशी प्रदेशको विकासमा एनआरएनएले सहकार्य गर्ने (फोटो फिचर) मोबाइल ब्लड बस हस्तारन्तरण

नेपालब्रिटेन डट कम्
३ माघ २०८०, बुधबार ०६:०५

धरान । कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको आयोजनामा बुधवार धरानमा आयोजित मोबाइल ब्लड बस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताए । ती सम्भावित क्षेत्रमा सहकार्य गर्न मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेका हुन् । उनले गैरआवासीय नेपाली संघले देशमा अप्ठ्यरो परेको बेला सहयोग गरेको स्मरण गर्दै विदेशमा रहेका नेपालीहरुबीच एकतामा जोड दिए । विदेशमा युरोप, अमेरिकामा बस्ने नेपालीहरु र मध्येपूर्वका देशमा बस्ने नेपालीबीच मतभेद हुन नहुने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरु सक्रिय रहेको बताए । उनले विदेशीहरुको लगानीभन्दा गैरआवासीय नेपालीहरुको लगानी दिगो हुने अध्यक्ष डा. केसीको भनाइ थियो । उनले कोशी प्रदेशको समृद्धिको लागि संघले पूर्वाधार, चियालगायतका व्यवसायमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको बताए ।

अध्यक्ष डा. केसीले संघले गरेको प्रतिबद्धताअनुसार सातै प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको चर्चा गर्दै प्रविधियुत सो बस मात्र नभएर सन्देश भएको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएले स्थापनाकालदेखि संघले १ अर्ब भन्दा बढीको परोपकारी कामको गरेको जनाकारी दिए । उनले संघले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीहरुको ज्यान जोगाउन ठूलो सहयोग हुने जानकारी दिए ।

उनले गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई देशमा भित्राउन सक्रिय रहेको बताए । डा. शर्माले गैरआवासीय नेपाली संघले नेपालमा लगानी, परोपकारी काम र विदेशमा बस्ने नेपालीहरुको हकहितको लागि आवाज उठाउने तीन मुख्य मुद्धालाई पिल्लरको रुपमा लिएर सोही दिसामा काम गर्दै आएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधानले गैरआवासीय नेपाली संघले हस्तान्तरण गरेको मोबाइल ब्लड बसले मानिसहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका हुने बताइन् ।

सोही कार्यक्रमबीच गैरआवासीय नेपाली संघको तर्फबाट आजै सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको छ । ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा पूर्व सांसद मीना सुव्वा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भीम पराजुली, धरान उपमहानगरपालिकाका नगर उपप्रमुख हर्कराज राई, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाईटीका उपमहामन्त्री मनोजकुमार थापा, नेपाली कांग्रेसका नेता राजीव कोइराला लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संघका केन्द्रीय पदाधिकारीहरु, प्रदेश सांसद, राजनीतिक दलहरुका प्रतिनिधिहरु, धरान उपमहानगरपाललिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु तथा सुरक्षा निकायका प्रमुखको विषेश उपस्थिति थियो ।