१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

मानव तस्करीमा संलग्न २२ जनाविरुद्ध आज अदालतमा मुद्दा दर्ताको तयारी

नेपालब्रिटेन संवाददाता
१८ माघ २०८०, बिहीबार ०६:४३

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भिजिट भिसा प्रकरणको अभियोजन गर्ने अन्तिम तयारी गरेको छ । हिजो सो प्रकरणको अनुसन्धान भएको ६० दिन पुगेपनि उच्च अदालत पाटन मातहतका अदालतहरुमा शोक विदा दिइएका कारण आज मुद्दा दर्ता गर्न लागिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन माघ १४ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो । त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो ।

प्रहरीको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरुले संगठित समूह बनाई भिजिट भिसाका नाममा रकम लिएर मानव तस्करी गर्ने गरेको खुलेको छ ।