१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन हुँदैन: कांग्रेस नेता कोइराला

नेपालब्रिटेन संवाददाता
२२ माघ २०८०, सोमबार १३:३२

काठमाडौं । समुदायमा कांग्रेस अभियानका लागि यतिबेला कांग्रेस नेता नेता डा शेखर कोइराला झापा पुगेमा रहेका छन । माघ दोस्रो सातादेखि आगामी २६ गतेसम्म पहिलो चरणमा चल्ने यो अभियान लिएर पुगेका कोइरालालाई कार्यकर्ताले घेरेका छन् ।

झापा पुगेका नेता कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासै–गुनासाका पोका थुपारेका छन् । हाज सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिंड्न नसक्ने बताएका थिए ।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने रु कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?’ एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन् । सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको बताएका थिए ।

भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनिहरुले नेताहरुलाई सुझाव दिएका छन । सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने दाबी गरेका छन ।