१२ श्रावण २०८१, शनिबार
Follow Us

अर्थतन्त्रमा आशा: विदेशी विनिमय सञ्चिति र विप्रेषण आप्रवाहमा वृद्धि

नेपालब्रिटेन संवाददाता
२३ माघ २०८०, मंगलवार १३:४८

काठमाडौं । २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकको सर्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो छ महिनामा विदेशी सञ्चितिमा बढोत्तरी भई पुस मसान्तमा आइपुग्दा रु.१८१६ अर्ब ५७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

बैंका अनुसार २०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

बैंकका अनुसार मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेकोछ ।

त्यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको छ ।गएको ६ महिनामा नेपाल सरकारको खर्च रु.५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु.४९६ अर्ब ५० करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।