१२ श्रावण २०८१, शनिबार
Follow Us

राजावादीमाथि कारबाही गर्न सरकारसँग प्रमुख दलको माग

नेपालब्रिटेन संवाददाता
२४ माघ २०८०, बुधबार ०६:२१

जनकपुर । प्रमुख राजनीतिक दलहरुले मुलुकमा गणतन्त्र र संघीयता मासेर राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको भन्दै खबरदारी गरेका छन् ।

धनुषामा सक्रिय राजनीतिक दलका जिल्ला नेताहरुको मंगलबार बसेको बैठकले राजावादी र संघीयताविरोधी शक्तिविरुद्ध एकजुट हुने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा राजतन्त्र स्थापना र संघीयता खारेजीको षड्यन्त्र भइरहेको भन्दै सरकार र प्रशासनिक निकायलाई सचेत हुन भनिएको छ ।

उनीहरुले लामो संघर्ष र बलिदानपश्चात प्राप्त गणतन्त्र, लोकतन्त्र र संघीयता मास्न षड्यन्त्र गर्नेमाथि कारबाहीको माग गरेका छन् ।

‘विगत केही दिनदेखि विभिन्न नाममा जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरु राजतन्त्र फर्काउने षड्यन्त्रको व्यापार गर्दैछन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जनताको सर्वोच्चता र संविधानको प्रस्तावना र त्यस्को अपरिवर्तनीय प्रावधानविपरीत, अराजकता फैलाउने तत्वहरुमाथि सरकार र प्रशासनको कारबाहीको आभावले आउने दिनहरुमा स्थिति अनियन्त्रित नहोस्’, विज्ञप्तिमा भनिएको छ ।

दलहरुले राजावादी शक्तिविरुद्ध गणतन्त्रवादी वौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदुर–किसान, व्यवसायी र नागरिक समाजलाई सक्रियता साथ अग्रसर हुन अपिलसमेत गरेका छन् ।

वक्तव्यमा तमलोपा नेता वृषेशचन्द्र लाल, कांग्रेस मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव, नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र पण्डित र शीतल झा, माओवादी केन्द्रका श्रीनारायाण प्रतिहस्त, एमालेका सन्तोष यादव, साहित्यकार रोशन जनकपुरी लगायतले हस्ताक्षर गरेका छन् ।