१२ श्रावण २०८१, शनिबार
Follow Us

टीकापुर सरकारी जग्गा हिनामिना प्रकरणमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८०, बिहीबार १३:३३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार (आज) उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी लगायतका पदाधिकारीहरू विरुद्ध आरोप पत्र दायर गरेको हो । समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा सङ्घ/संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा सो नगरी निम्न बमोजिमका नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरू समेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साबिकको टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएकोले अख्तियारले जनाएको छ ।