१२ श्रावण २०८१, शनिबार
Follow Us

पाल्पा जिप दुर्घटना अपडेटः मृतकको संख्या दश पुग्यो, १६ जना घाइते

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०८०, बुधबार ०६:५१

पाल्पा । पाल्पामा मंगलबार बेलुकी दश जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको मुख्य कारण जिर्ण बाटो र क्षमताभन्दा झण्डै दोब्बर यात्रु सवार रहेका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उपचारको क्रममा थप २ को मृत्यु भएपछि मृतकको संख्या बढेर दश पुगेको छ ।

१५ यात्रुको सिट क्षमता भएको मुस्ताङ्ग जिपमा चालकसहित २७ जना यात्रु सवार थिए । जिल्लाको तिनाउ गाउँपालिका- ६, चिदिसको लुम्पेकडाँडामा भएको जीप दुर्घटनामा स्थानीय १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिसको सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जिप यो रुटमा विगत दश वर्षदेखि नियमित चल्दै आएको थियो । लुम्पेक डाँडामा हिजो मंगलबार बेलुकी ४ बजेर ५० मिनेटमा ठुलो आवाजसहित करिब तीन सय मिटर तल सडकमा आएर जिप बजारिन पुग्यो ।

जुन दुर्घटनाबाट एकै गाउँका चार जनासहित आफन्ती भेट्न पुगेका श्रीमान श्रीमतीले ज्यान गुमाएका छन् । स्थानीय दिनेश घिमिरेका अनुसार सो रुटमा नियमित चल्ने जिप भए पनि उकालो घुम्तीमा बढी लोड भएका कारण जीप ब्याक भएर दुर्घटना भएको बताए ।

जीप ब्याक भएपछि चालक तानसेन-१० आमडाँडाका ४६ वर्षीय दानबहादुर चिदी पहिले नै झरेका कारण उनी बच्न भएका छन् । कच्ची बाटो त्यसमा उकालो घुम्ती रहेका कारण जीपको पट्टा भाँचिएको चालकले प्रहरी समक्ष बयान दिएका छन् ।

तिनाउ गाउँपालिका-६ का वडा अध्यक्ष टोमबहादुर पुनका अनुसार उकालोको घुम्तीमा धेरै लोड भएका कारण गाडी व्याक भई दुर्घटना भएको हुनसक्ने बताए ।

जिल्ला प्रहरी पाल्पाका प्रमुख प्रहरी उपरिक्षक एसपी हेरम्ब शर्माले उकालो, घुम्ती र बढी क्षमताकै कारण घटना भएको प्रारम्भिक निष्कर्षमा पुगिएको जानकारी दिए । दुर्घटनामा घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइराखेको छ ।

मृतकको सनाखतमा मंगलबार राति मात्र भएकोले आज विहानबाट मात्र शवको पोष्टमार्ट सुरु गरेर आफन्तलाई बुझाउने तयारी थालिएको पाल्पा प्रहरी प्रमुख शर्माले बताए ।

मृतकमध्ये जिल्लाको तिनाउ गाउँपालिका ६ मस्यामका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, २८ वर्षीय उर्मीला अस्लामीको र ६० वर्षीय यनकुमार पन्त रहेका छन् । यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिका १ ख्याहाकी ६६ वर्षीय विष्णुकला विश्वकर्मा, सोही स्थानकी ६१ वर्षीय दिलकुमारी सुनार र तिनाउ गाउँपालिका-२ की २० वर्षीय गीता सुनारको पनि मृत्यु भएको हो ।

यता आफन्त भेट्नका लागि हिंडेका रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ का ७० वर्षीय चन्द्र बहादुर राणपाल र ६० वर्षीय चुना रणपालको पनि दुर्घटनामा परि ज्यान गएको छ । चन्द्र र चुना श्रीमान श्रीमती रहेको खुलेको प्रहरीले जनाएको छ । यसैगरि रुपन्देहीको देबदह नगरपालिका ५ बस्ने वर्ष २९ की दिलमाया जिसीको पनि मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ ।

जिप दुर्घटनामा जिल्लाको तिनाउ-२ खुर्शानी बस्ने वर्ष २० की गीता सुनारका ३६ दिनको नवजात शिशु स्वस्तिका सुनारसहित १६ जना घाइते भएका छन् । घाइतेको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।