मुख्य समाचार

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाम । इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव-२०८३’ हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव सुरु हुँदैछ ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातारणमन्त्री खिनु लङ्वा(लिम्बू)ले गर्ने कार्यक्रम छ । चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं १० नं वडाध्यक्ष पेमा उगेन लामाले बताए ।

“चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यहाँ आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।”

आइतबारसम्म सञ्चालन हुने महोत्सवमा महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् । त्यस्तै, स्थानीय खाद्य परिकारको कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, टेस्टिङ र बजारीकरणको व्यवस्था गरिने संयोजक लामाले बताए ।

महोत्सवमा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ कन्याममा १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ कन्याममै नौ किलोमिटर दूरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछ । पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार हजार नगद पुरस्कार पाउनेछन् ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका वडा नं ७ कन्यामदेखि वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ । त्यसकै प्रचारप्रसारका लागि महोत्सव आयोजन गरिएको हो ।

महोत्सव सञ्चालनका लागि करिब रु १५ लाख खर्च हुने अनुमान गरिएको छ । सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र हो । चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज खान, घोडचढी गर्न, फोटो र भिडियो खिच्न एवं दृश्यावलोकनका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् । रमणीय र प्राकृतिक सौन्दर्यको भरिपूर्ण उपहारको रूपमा रहेको कन्याम मेची राजमार्गको पहुँचमा भएकाले सहजै पुग्न सकिन्छ ।

झापाको चारआलीबाट मोडिएर लागेपछि करिब एक घण्टाको यात्रामा कन्याम पुग्न सकिन्छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम