भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेनलाई आफ्नै स्टाटस भारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन दुई दिने भारत भ्रमणका क्रममा आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् । दिल्लीमा साढे २५ घन्टा बिताएर उनी सोमबार साँझ स्वदेश फर्किंदैछन् ।
भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेनलाई आफ्नै स्टाटस भारी परेको छ । डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जान लागेका बेला बालेनले ‘भारत र चीनले नेपालको लिपुलेक नाकाबाट व्यापार व्यवसाय सञ्चालन गर्न लागेका छन्, यसले नेपालको सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, लिपुलेक नेपालको हो भनेर चीनलाई सम्झाइदिन नबिर्सिनुहोला’ भनेर फेसबुकमा स्टाटस लेखेका थिए । आज उनै बालेन प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदैछन् ।
भारत भ्रमणमा जाँदा आफू मेयर भएको बेला कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा र लिपुलेकबारे कसरी कुरा राख्लान् भन्ने चासो बढेको छ । आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा बालेनको पुरानो स्टाटस राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई स्मरण गराउने क्रम बढेको छ ।
विगतमा देशका प्रधानमन्त्री कुनै देशको औपचारिक भ्रमणमा जाँदा छलफल गर्ने प्रचलन थियो । तर यसपटक बालेनले त्यसलाई भत्काएका छन् । पुरानो परम्परा तोडेका छन् । राष्ट्रपतिसँग छलफल गरिएन । संसदमा रहेका प्रमुख दलसँग कुनै संवाद गरिएन । मात्र सत्तारुढ रास्वपा सभापति रवि लामिछानेसँग परामर्श गरियो ।
भ्रमणपूर्व राष्ट्रपतिदेखि संसद्मा रहेका दलहरुसँग कसैसँग पनि कुनै छलफल र परामर्श भएन । कूटनीतिमा निरन्तरता र राष्ट्रिय सहमतिले ठूलो महत्व राख्दछ ।
देशभित्र सामान्य छलफल पनि नगरेका प्रधानमन्त्रीसँग कुनै पनि दीर्घकालीन सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्ने नैतिक तथा राजनीतिक सामथ्र्य हुँदैन । त्यसबाट भोलिका दिनमा थप विवाद सिर्जना हुन सक्छ । उनले संसदमा यसबारे जवाफ दिनैपर्ने हुन्छ । त्यसै पनि गत जेठमा बालेनले भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको भनेर अप्रमाणित अभिव्यक्ति संसदमै दिएर विवादमा परिसकेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कूटनीतिमा चतुर मानिन्छन् । कसलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा उनी भलीभाती जानकार छन् । उनले बालेनका कार्यशैलीबारे निरन्तर जानकारी लिइरहेका छन् । त्यसैले बालेनको भारत भ्रमण उपलब्धिमूलक हुनेमा धेरै आशंका जन्माएको छ ।

