१२ श्रावण २०८१, शनिबार
Follow Us

वनभोज खाने क्रममा नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु, वडाअध्यक्ष बेहोस

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०८०, शनिबार १३:२६

काठमाडौं । रामेछाप वनभोज खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले जानकारी दिएका छन । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको–७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए ।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाण्डु पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं ७ नंका वडा वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।