१६ बैशाख २०८१, आईतवार
Follow Us

नेपाली कांग्रेसमा ‘गगन नीति’

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०८०, मंगलवार ०२:१९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएका छन्।

सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो।

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेका थिए। यसले देउवालाई समझदारीमा आउन दबाब पुगेको थियो।

‘कार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्ने?’ भन्दै केही नेताहरूले सभापति देउवालाई प्रश्न सोधेका थिए।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार केही नेताहरूले कांग्रेस आजै यति कमजोर छ भनेर सोधेपछि सभापति देउवा बोलेका थिए। उनले ‘ल ठीक छ, प्रस्तावको कुरा मानेँ, छपाइ गर्न पठाए हुन्छ’ भनेका थिए।

‘यति बेलासम्म पनि सभापति देउवा पक्षका केही नेताहरू भने यस्तो हुन्न भनिरहेका थिए। तर सभापतिले मैले मानेँ भनेपछि बैठक सकियो,’ ती पदाधिकारीले भने।

महामन्त्री थापाको प्रस्तावमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, भिस्मराज आङ्दम्बे, बद्री पान्डे, गोपालमान श्रेष्ठ लगायतले बुढानिलकण्ठ बैठकमा समर्थन गरेको ती पदाधिकारीको भनाइ छ।

बुढानिलकण्ठ बैठकमा शेखर कोइरालालाई बोलाइए पनि उनी उपस्थित भएका थिएनन्।

पदाधिकारी बैठक चल्दचल्दै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर फर्किएका थिए।

सभापति देउवानिकट स्रोतले सेतोपाटीलाई दिएको जानकारीअनुसार महामन्त्री थापाको सांगठनिक प्रस्तावमा `अहिलेको गठबन्धनलाई ०७९ को चुनावमा मत मागेर बहुमत आएकोले गठबन्धनलाई बलियो बनाएर लैजाने र आगामी चुनावमा कांंग्रेसको एकल बहुमत ल्याउने गरी पार्टीलाई सशक्त बनाउने´ समझदारी बनेको छ।

कांग्रेस महासमिति बैठक सोमबार उद्घाटन गरिएको थियो।

मंगलबार बिहान ९ बजेदेखि पुनः बैठक सुरू हुनेछ।

महासमिति उद्घाटन सकिँदासम्म पनि सांगठनिक प्रस्तावमा सहमति हुन सकेको थिएन। अहिले नै गठबन्धनबारे प्रस्तावमा केही लेख्न नहुने अडान दुई दिनदेखि देउवाले राखेका थिए। अन्ततः देउवा अडानबाट पछि हटेका छन्।