१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनलाई जग्गामा ठगि गर्ने दलालबाट पैसा असुल गरौं

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०८०, शनिबार १८:३०

निर्वाचित समितिलाई भङ्ग गर्ने षड्यन्त्र

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले एनआरएनलाई जग्गा बेच्ने दलालहरुबाट पैसा असुल गर्नु पर्ने बताएका छन् ।

विशेष अदालतले संघको केन्द्रीय कार्यालयमा रहेको ललिता निवास जग्गा सरकारी हुने फैसला सुनाए पछि डा. शर्माको उक्त विचार आएको हो ।

डा. शर्माले प्रधानमन्त्री प्रचण्डलाई एक पत्र लेख्दै ‘निर्वाचित समितिले नागरिकता, ब्रिटिस गोर्खा, वैदेशिक रोजगार लगायतका समस्यालाई लिएर भेट्न खोज्दा ‘अहिले बिवाद छ नभेटौ’ भनेर तर्किएको’ बताए । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टोबरमा भएको निर्वाचन छानबिन गर्न एक समिति गठन गरेको छ ।

डा. शर्माले छानबिनको दायरा भित्र रहेका व्यक्तिहरु र झगडिया टिमलाई प्रधानमन्त्रीले भेट्नु न्यायसंगत नभएको बताए ।

उनले ‘झगडियासंग मात्र छलफल गर्दा छानबिनलाई असर गर्छ कि गर्दैन ? तपाईको नजरमा विवादित भनिएको निर्वाचन बनाउने तत्कालिन एक जना अध्यक्षलाई दायाँ र निर्वाचित समितिले उपविजेता ठानेकालाई दायाँ राखेर खिचेको फोटो देख्दा छानबिनको रिपोर्ट लेख्ने कर्मचारीको हात काम्छ कि काम्दैन ? भन्ने प्रश्न गरेका छन् ।

उनले सरकारले निर्वाचित समितिलाई भङ्ग गर्ने षड्यन्त्र गरेको’ बताएका छन् ।

शर्माले भने ‘हुन त छानबिन समिति निर्वाचित समितिलाई भङ्ग गर्ने ग्राण्ड डिजाइनका साथ गठन भएको हामीलाई शंका छैन तर पनि लोकको लाज पचाउने गरी काम गरि दिए हुन्थ्यो भन्ने हाम्रो कामना हो ।’

उनले देश बनाउने हुङ्कार गर्ने एनआरएनले कार्यालय चलाउन सरकारसँग भिख माग्दै हिँड्छ नसुहाउने बताए ।

उनले ‘हिक्मत छ भने हामीलाई फसाउने दलालहरूबाट पैसा असुल गरौ (जुन संभव छ), नयाँ भवन निर्माण गरौ, केही साथीहरुले सुझाव दिए जस्तै अहिलेको भवनलाई मध्यपूर्व मलेसियाबाट रातो बाकसमा फर्किनेहरूको संझना संग्रालय बनाउँ । हजारौ गैरआवासीय नेपालीहरुको पसिनाबाट बनेको भवनको आडमा सरकार मार्फत एनआरएनएमा आफ्नो स्वार्थ पूर्ती गर्न नलागौं’ भनेका छन् ।